आज प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं,२९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री भएको एकमहिना पुगेको अवसर पारेर ओलीले देशवासीको नाममा औपचारिक सम्बोधन गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
आज सम्बोधन गर्ने तयारीका लागि जुटेपनि यकिन भने भइनसकेको बताउनुभयो । यसअघि तिहार अघि नै सम्बोधन गर्ने भनिए पनि तयारी नपुगेकाले केही दिन सारिएको हो । प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी, मधेस आन्दोलनलगायत विषयलाई समेटेर सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच प्रधानमन्त्रीले गर्ने सम्बोधन र समसायिक अवस्थाको बारेमा छलफल गर्न सरकार समर्थीत दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दैछ । विहान १० बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा देशबासिका नाममा प्रधानमन्त्रीले गर्ने सम्बोधन, मधेस केन्द्रित दलहरुसँगको बार्ता प्रकृया, मधेश आन्दोलनको सम्बोधनको प्रयास, संविधान संशोधन प्रकृया र भारतले गरेको नाकाबन्दीपछि उत्पन्न संकट र चालिने कदमका बारेमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयलले जनाएको छ ।
समितिका संयोजक पुष्पकमल दाहालले हिजो मधेशी मोर्चाका नेतासँग तराइ आन्दोलनका बारे छलफल गर्नुभएको थियो । आज दाहालले बैठकमा हिजो मोर्चासँग भएको छलफलको रिपोर्टिङ पनि गर्नुहुने भएको छ ।