Live Streaming

जोगबनीबाट इन्धन आएन,

कुमार लुइँटेल

 

विराटनगर, २३ कार्तिक । विराटनगरको जोगबनी नाका भएर ६ दिनदेखि इन्धन आउन सकेको छैन् । सोमबार बिहानसम्म यो नाका भएर १ सय २६ मालवबाहक गाडी भित्रिएका छन् । तर, इन्धन भने आएन । विराटनगर भन्सार कार्यालयका अनुसार औद्योगिक कच्चा पदार्थ, धान झाँट्ने थ्रेसर, गहुँ,आलु, प्याज लगायत खाद्यान्न सहितका मालवाहक ट्रक विराटनगर भित्रिएका छन् ।

ती गाडीलाई सुरक्षा दिएर गन्तब्यसम्म लगिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोदकुमार खरेलले जानकारी दिए । भारतीय भन्सार जाँचपास भएका गाडी आएपनि जोगबनीमा गाडीको लाम उत्तिकै रहेको छ’, उनले भने, ‘भारतपट्टीको बथनाहामा ४० भन्दा धेरै इन्धन बोकेका गाडी नेपाल आउन पालो कुरेर बसेका छन् ।’ 

नेपाली सरकारी अधिकारीहरुले भने इन्धनलाई प्राथमिकता दिएर पहिले पठाउन आग्रह गरेको भन्सार प्रमुख कृष्ण बस्नेतले बताए ।इन्धन बोकेका गाडीको लाम पछाडि रहेकोले पालो प्रथामा अन्य गाडीसँगै आउने हो भने ती गाडी नेपाल आइपुग्न अझै तीन दिन लाग्ने डिएसपी खरेलले जानकारी दिएका छन् ।

 इन्धन नआएका कारण विराटनगरमा गत बुधबारबाट सुरु भएका यात्रुबस चल्न छाडेका छन् । धरानविराटनगर रुटमा चल्ने बसले डिजेल नपाएपछि सेवा फेरि बन्द गरेका हुन । ती बस बन्द भएको ८२ दिनपछि सञ्चालनमा आएका थिए ।

नाकामा सभा र वुुद्धिजीवीको मौन जुलुस

संयुक्त मधेशी मोर्चाले आफ्नो घोषित कार्यक्रमअनुसार जोगबनी नाकाको एक नम्बर गेटमा गर्दै आएको कोणसभालाई निरन्तरता दिइने जनाएको छ ।संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले आइतबार अपरान्ह पनि कोणसमा गरिएको र सोमबार पनि त्यसलाई निरन्तरता दिइने बताए । विराटनगरमा मधेसी वुद्धिजीवीहरुले आज अपरान्ह मधेस आन्दोलनको समर्थनमा मौन जुलुस निकाल्ने तयारी गरेका छन् ।