Live Streaming

​मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरी,२३ कार्तिक । सप्तरीको पूर्व–पश्चिम राजमार्गमा धर्नामा बसेका मधेसी मोर्चाका  कार्यकर्ता र प्रहरीबीच झडप हुँदा डेढ दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । जिल्लाको भारदह र रुपनीमा प्रहरीले बल प्रयोग गरेर धर्नामा बसेकाहरुलाई हटाउन खोजेपछि गएराती करीब साढे ११ बजे झडप भएको हो ।

झडपका क्रममा प्रहरीले दुई दर्जन आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएको छ । राजमार्गमा रोकिएका गाडीहरु एस्कर्टिङ्ग गराउने क्रममा प्रहरीले भारदहबाट राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष शेखर कुमार सिंह, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास कुमार तिवारीलगायतका नेताहरुलाई नियन्त्रणमा लिएको हो । उता, रुपनीमा भएको झडपमा मोर्चाका युवा नेता केदार यादव र अशोलाल यादवसहित एक दर्जन आन्दोलनकारी घाइते भएका छन् । झडपपछि गएरातीबाट नै प्रहरीले अबरुद्ध राजमार्ग खुलाएको छ ।