चितवनमा थप ६ जनामा डेंगु पुष्टि
काठमाडौं,२२ कार्तिक । चितवनमा थप ६ जनामा डेंगु रोग पुष्टि भएको छ । गएको असोज महिनासम्म २६ जनालाई डेंगु लागेको पाइएकामा कात्तिक लागेपछि थप ६ जनामा यो रोग पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कात्तिक महिनामा परीक्षणमा प्रयोग गरिने कीट अभावका कारण पूर्ण परीक्षण गर्न पाइएको छैन । आर्थीक वर्ष २०७२÷७३ को सुरुको तीन महिनामा २६ जनामा डेंगु रोग लागेको भेटिएको थियो । कात्तिक लागेपछि ६ जना थपिएर यो वर्ष डेंगुको सङ्क्रमण भएका बिरामीको सङ्ख्या ३२ पुगेको छ ।
चाडबाडको बेलामा डेंगु देखिएपछि सङ्क्रमण फैलन नदिन जनस्वास्थ्य कार्यालय चितवनले स्वयम्सेविका परिचालन गरेर आजदेखि लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने तीनदिने अभियान सुरु भएको छ । भरतपुरको विभिन्न १४ वटा वडामा अभियान सुरु गर्न लागिएको कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले जानकारी दिनुभयो । एडिस एजेप्टाइ नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ ।