नाकाबन्दीका कारण तीन सय ट्रक औषधि अलपत्र
क्रान्ति शाह
वीरगन्ज,,२२ कार्तिक । नाकाबन्दीका कारण वीरगन्ज सीमापारि रक्सौलमा करिब तीन सय ट्रक औषधि डेढ महिनादेखि रोकिएको छ । नेपालका लागि आयात गरिएका औषधि र औषधिजन्य उद्योगका कच्चा पदार्थ बोकेका यी ट्रक रोकिँदा समस्या उत्पन्न भएको नेपाल औषधि व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश खण्डेलवालले बताए ।
असोज ७ गतेदेखि भारतबाट कुनै पनि मालवाहक गाडी नेपाल छिर्न सकेका छैनन् । नाकाबन्दीका कारण रक्सौलमा नेपालका करिब चार हजार आठ सयवटा मालवाहक ट्रक र कन्टेनर रोकिएका छन् ।
खण्डेलवालका अनुसार भारतबाट नेपालमा ६० प्रतिशतभन्दा बढी औषधि र औषधिजन्य कच्चा पदार्थ वीरगन्ज नाका भएर नेपालमा भित्रिने गरेको छ । लामो समयदेखि ती ट्रक सडकमै रहेका कारण औषधि बिग्रने सम्भावना रहेको उनले बताए । बिग्रने सम्भावना रहेका केही औषधि ट्रकबाट खन्याएर रक्सौलमा गोदाम भाडामा लिएर राखिएको पनि उनले बताए । कतिपय औषधि भने त्यहाँ राख्दाराख्दै उपभोग गर्ने म्याद सकिने अवस्थाका पनि छन् ।
रक्सौलमा रोकिएका औषधिका ट्रकमध्ये केही ट्रक रुट परिवर्तन गरेर भैरहवा नाकामा पठाइए पनि भारतले नेपाल प्रवेश गर्न नदिएको खण्डेलवालले बताए ।
वीरगन्ज–पथलैया औद्योगिक करिडरमा १४ वटा औषधि उद्योग छन् । भारतबाट आयात गरिएका औषधिका कच्चा पदार्थ रक्सौलमै रोकिएका कारण ती उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् । ‘जेगडामा रहेको कच्चा पदार्थ सकिने अवस्थामा छ,’ नेपाल फर्मास्युटिकल्स प्रालिका सञ्चालक महेन्द्र अमात्यले भने, ‘अबको दुईचार दिनमा उद्योग बन्द गर्नुपर्ने हुन्छ ।’
आफ्नो उद्योगका कच्चा पदार्थ बोकेका दुईवटा ट्रक रक्सौलमा र एउटा ट्रक भैरहवा नाकामा डेढ महिनादेखि रोकिएको उनले बताए । बन्दहडताल र नाकाबन्दीले डिजेल नपाइएका कारण पनि उद्योग बन्द गर्नुपर्ने स्थिति उत्पन्न भएको अमात्यले बताए । ‘एक त उद्योग चलाउन डिजेल नै पाइएको छैन, कच्चा पदार्थ पनि भारतमै अड्किएको छ,’ उनले भने, ‘उत्पादन भइसकेका औषधि पनि ढुवानी हुन नसक्दा उद्योगमै थन्किएका छन्, स्थिति एकदमै अप्ठयारो भइसकेको छ ।’
भारतले गरेको नाकाबन्दीका कारण नेपालका औषधि र कच्चा पदार्थ भारतमा रोकिएको नागरिक समाजका अगुवा प्राध्यापक डा. दीपक शाक्यले बताए । युद्धकालीन अवस्थामा समेत औषधि रोक्न नपाइने अन्तर्राष्ट्रिय कानुनमा उल्लेख भए पनि भारतले त्यसलाई मिचेर नेपालका लागि आयात गरिएको औषधि रक्सौल नाकामा रोकेको उनले बताए ।
औषधि अभावले स्वास्थ्य संस्था बन्द
मधेस आन्दोलन र बन्दहडतालका कारण औषधि अभाव भएपछि पर्साको ग्रामीण क्षेत्रमा रहेका करिब १० वटा सरकारी स्वास्थ्य संस्था झन्डै एक महिनादेखि बन्द छन् ।
औषधि सकिएका कारण महादेवपट्टी, मिर्जापुर, सम्भौता, जयमंगलापुर, शिवबर्वा, सबैठवालगायतका स्थानमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी खुलेका छैनन् । औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले नै स्वास्थ्य संस्था बन्द गरेका हुन् ।
एक महिनाअघि औषधि सकिएको बताउँदै मिर्जापुर स्वास्थ्य चौकीका अहेव रामबाबु यादवले भने, ‘औषधि नपाएपछि आक्रोशमा बिरामीले गालीगलौज गर्दै धम्क्याउँछन् । त्यसैले स्वास्थ्य चौकी बन्द गर्न बाध्य भएका हौं ।’ औषधिका लागि सदरमुकाम वीरगन्जमा पटकपटक ताकेता गर्दा सुनुवाइ नभएको उनको गुनासो छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुणकुमार महतोले पनि बन्दहडतालका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधिको आपूर्ति हुन नसकेको स्वीकार गरे ।
‘जिल्ला जनस्वास्थ्य कार्यालयमा केही औषधि जगेडामा त छ,’ उनले भने, ‘तर बन्दहडतालका कारण ढुवानीका साधन नचलेकाले ग्रामीण क्षेत्रमा पठाउन सकिएको छैन ।’ औषधि अभावकै कारण स्वास्थ्य संस्था बन्द भएको बारेमा भने आफूलाई जानकारी नभएको उनले बताए ।