रसुवागढीबाट इन्धन ल्याउँदा बाटोकै समस्या
सन्तोष घिमिरे
रसुवागढी,२२ कार्तिक । रसुवागढीस्थित नेपाल–चीन मैत्री पुलमा उभिँदा चिनियाँ भूमितर्फ पक्की भन्सार र अध्यागमन कार्यालय देखिन्छ । नेपालतर्फ भने चट्टानी पहाड मुन्तिर खण्डहर जमिनबाहेक केही देखिँदैन ।
वैशाख १२ को भूकम्पले भन्सार, अध्यागमन कार्यालय पुरेपछि अहिले ती कार्यालय ३ किलोमिटर वर टिमुरेमा अस्थायी रूपमा सञ्चालन गरिएका छन् । सोही नाकाबाट छिमेकी चीनले अनुदानस्वरूप उपलब्ध गराएको इन्धन शनिबारदेखि नेपाल भित्रिन थालेको छ ।
रसुवामा विगत १४ वर्षदेखि व्यापार गर्दै आएकी लाक्पा चो शेर्पा रसुवागढी नाका हुँदै चीनले पठाएको पेट्रोल भित्रिएको देख्दा निकै खुसी छिन् । ‘सरकारले यो सडक अझै फराकिलो बनाए चीनसँगको व्यापार अझ बढ्न गई हामी सबै नेपालीलाई फाइदा हुन्छ भन्ने लागेको छ,’ उनले भनिन् ।
अहिले स्थानीय तहमा मात्र नभएर राष्ट्रिय तहमै यस नाकाको महत्वबारे चर्चा सुरु भएको छ । चीन र नेपालबीच हालै समझदारी भएसँगै नेपालले अल्पकालीन र दीर्घकालीन रूपमा चीनबाट पेट्रोल, ग्यास र डिजेल भित्र्याउन बाटो खोलेपछि यो नाकाको उपयोगबारे बहस भइरहेको छ ।
‘चीनबाट दीर्घकालीन रूपमा हामीले ३३ प्रतिशत इन्धन ल्याउनेसम्बन्धी समझदारी गरेका छौं । तर अब मुख्य काम भनेको हाम्रो भूभागतर्फका सडक विस्तार, मर्मत र सुधार हो, जसले गर्दा इन्धन सहज रूपमा भित्र्याउन सकिन्छ,’ चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले भने ।
चीनसँग इन्धन खरिद समझदारीपत्रमा हस्ताक्षर हुँदा पनि नेपालतर्फ इन्धन निर्यात गर्न यातायात सहज बनाउने विषयमा चिनियाँ पक्षसँग कुराकानी भएको उनले जानकारी दिए । ल्हासामा पनि रसुवागढी तथा तातोपानी दुवै नाकालाई सञ्चालनमा ल्याउन चिनियाँ अधिकारीसँग कुरा भएको उनले बताए ।
केरुङ नजिक आगामी चारपाँच महिनासम्म बाक्लो हिमपात हुने हुँदा नेपालतर्फ इन्धन भित्र्याउन समस्या उत्पन्न हुनसक्ने देखिएको छ । केरुङ—रसुवागढी सडक खण्ड अधिकांश राम्रो भए पनि केही स्थानमा बारम्बार गइरहने पहिरोका कारण इन्धन ल्याउन समस्या देखिएको अधिकारीहरू बताउँछन् ।
त्यस्तै रसुवा–काठमाडौं जोड्ने सडक हालसम्म एक लेनको मात्र छ । उक्त सडक बिस्तार, स्तरोन्नति, मर्मत र रसुवाढीमा रहेका भन्सार र अध्यागमन कार्यालयको सुदृढीकरण तत्काल गर्नुपर्ने सरकारसामु चुनौती देखिएका छन् ।
नेपाल र चीनबीच वर्ष दिनअघि मात्रै रसुवागढीलाई औपचारिक रूपमा दुईदेशीय नाका घोषणा गरिएको थियो । रसुवागढी नाकामा चीनले अध्यागमन र भन्सारका पूर्वाधार निर्माण गरेजस्तै नेपालतर्फ पनि बलिया पूर्वाधार खडा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।
सिगात्सेसम्म सञ्चालनमा रहेको चिनियाँ रेल आगामी पाँच वर्षभित्र केरुङसम्म चीनले विस्तार गरेसँगै नेपालका लागि रसुवागढी नाकाको थप महŒव बढ्ने स्थानीय बासिन्दाको भनाइ छ । ‘उक्त चिनियाँ रेल नेपालतर्फ विस्तार गर्नका लागि नेपाल सरकारले आजैदेखि आवश्यक पहल सुरु गरोस् भन्ने हाम्रो चाहना हो,’ नेपाल–चीन व्यापार संघका मुकुन्द पौडेलले भने ।
भन्सार कार्यालय प्रमुख केदार पनेरूले अबका दिनमा रसुवागढी—स्याफ्रुबेसी—धुन्चे—गल्छी जोड्ने सडकमा मर्मत, सुधार र विस्तार आवश्यक रहेको बताए । उनले चीनबाट सहज रूपमा इन्धन ल्याउन सकिने बताउँदै नेपाल सरकारले विशेष अनुरोध गरे रसुवागढीनजिक चीनले इन्धनको डिपो खोलिदिन सक्ने पनि बताए ।
‘दीर्घकालीन रूपमा इन्धन भित्र्याउन हामीले रसुवागढीदेखि गल्छीसम्म सुरुङ खन्न सकिन्छ । जुन मुलुकको हितमा हुनेछ,’ उनले भने । उनले केरुङतर्फ हुने हिमपातका कारण सडक अवरुद्ध हुन गई नेपालतर्फ आउने इन्धन बीचमै रोकिने समस्या समाधान गर्न कूटनीतिक तहमा कुरा हुनुपर्ने बताए । ‘हिमपातले सडक अवरुद्ध भई केरुङ गएका ट्यांकर रोकिए चीनले तत्कालै सकड खुलाउने भन्ने समझदारी चीनसँग हुन आवश्यक छ,’ उनले भने ।
केरुङबाट ट्यांकरमा इन्धन भरेर फर्केका चालकले चीनतर्फ हिमपातलगायत पहिरोको समस्या रहे पनि इन्धन सहज रूपमा भित्र्याउने सम्भावना रहेको बताए । ‘हिमपात भए पनि केरुङतर्फको सडकमा साधारण पहिरोबाहेक अरू अप्ठ्यारो मैले पाइनँ,’ ट्यांकर चालक माधव सापकोटाले भने । तर उनले रसुवागढीबाट काठमाडौंसम्म सडकको दुरवस्थाका कारण एउटा ट्यांकरले नौ हजार लिटरमात्रै पेट्रोल बोक्न सक्ने बताए ।