आफ्ना एजेन्डा पूरा गराउन मधेशी मोर्चा संसदमा फर्कने
काठमाडौं,२२ कार्तिक । संविधान निर्माण प्रक्रिया जारी रहंदै संविधानसभा र संसद् परित्याग गरी झण्डै ३ महिनाअघि सडक आन्दोलनमा गएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आज पुनः संसद्मा फर्कदैछ । मोर्चाले संविधान संसोधनमार्फत आफ्ना एजेण्डा पुरा गराउन संसद्मा फर्कने निर्णय गरेको हो ।
ब्यवस्थापिका संसद्को बैठक अहिले केहीबेरमा बस्दैछ । मधेशी मोर्चा आवद्ध दल सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले नाकामा धर्नासहित राजमार्ग केन्द्रीत आन्दोलनका कार्यक्रम यथावत राखी संविधान संसोधनका लागि दवाव दिन संसद्मा फर्कन लागेको बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम अन्नपूर्ण फ्रण्टलाइनमा आज विहान कुराकानी गर्दै सुमनले आजको संसद् बैठकमा बोल्ने समय पाए मधेश आन्दोलनबारे कुरा राख्ने र नपाए रोष्ट्रम घेराउ गरि अबरुद्ध गरिने बताउनुभयो । संविधान संसोधन गरी प्रदेशको सिमांकन हेरफेर गरिनुपर्ने, समावेशी समानुपातिक प्रतिनिधित्वको ब्यवस्था गरिनुपर्ने लगायतका माग राखी मधेशी मोर्चा झण्डै ३ महिनायता आन्दोलनरत छ ।
८ दिनअघि उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि स्थगित संसद्को बैठक आज बस्न लागेको हो । बैठकमा भुकम्पपछिको पुर्ननिर्माण सम्बन्धि विधेयक पेश गर्ने तयारी छ । यद्यपी, बिधेयक जारी गर्ने बिषयमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी कंग्रेसबीचको असमझदारीले बिधेयक आजै पेश हुने नहुने अन्यौल छ । सो विधेयक हाल संसदको विधायन समितिमा छ । कंग्रेसले आफू नेतृत्वको अघिल्लो सरकारका पालमा प्रस्ताव गरेअनुरुप विधेयक पास गर्न दवाव दिदै आएको छ । बिधेयक नै आउन नसकेपछि गत बैशाखमा गएको भूकम्पले गरेको विनासको ६ महिना बितिसक्दा पनि पुर्ननिर्माण कार्य अझै शुरु हुन सकेको छैन ।