Live Streaming

बिराट पेट्रोलियम प्रालीद्धारा निगमसंँगको सम्झौता खारेज

काठमाडौं,२२ कार्तिक । विवादास्पद बिराट पेट्रोलियम प्रालीले महंगो मूल्यमा इन्धन आपुर्ति गर्नेगरी नेपाल आयल निगमसंग गरेको सम्झौता खारेज गरेको छ । विवादमा परेसंँगै ब्यवस्थापिका संसदको उपभोक्ता हीत सम्वन्ध समितिले छानविन प्रक्रिया अघि बढाएपछि सो कम्पनीले आज प्रेस विज्ञप्ति जारी गरी आफ्नो तर्फबाट सम्झौता खारेज गर्दै इन्धन आयात प्रक्रियाबाट अलग्गिएको जनाएको हो । 

भारतले गरेको नाकाबन्दीका कारण इन्धनको चरम संकट उत्पन्न भएपछि आयल निगमले इन्धन आयातका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । त्यसमा आशयपत्र पेश गरेका २१ वटा कम्पनीलाई पन्छाएर निगमले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैया र डिजल १ सय ८७ रुपैया तिर्ने गरी विराट पेट्रोसंग तत्काल ६० लाख लिटर इन्धन खरिद गर्ने निर्णय गर्दै कम्पनीलाई २० करोड रुपैयाँ पेश्की समेत दिएको थियो । 

लाखौंको आर्थिक अनियमितताको आशंका गरिएको सो निर्णयबारे निगमका उच्च अधिकारीसहित कम्पनीका सञ्चालक पनि छानविनमा पर्ने देखिएपछि बिराट कम्पनी आफैले प्रक्रियाबाट अलग्ग्निे निर्णय गरेको स्रोतले बताएको छ । प्रेस विज्ञप्तिमा सो कम्पनीले आफूबारे आम सञ्चारमाध्यममा आएका समाचार भ्रामक भएको र कम्पनीलाई प्रायोजित र स्वार्थपूर्ण चक्रब्युहमा पारिएको उल्लेख गरेको छ । कम्पनीले भारतीय नाकाबन्दीपछि तत्कालको इन्धन संकट समाधान गर्न आयल निगमले आह्वान गरेको ग्लोबल टेण्डरमा परेका विभिन्न प्रस्तावमध्ये आफूलेसबैभन्दा कम मुल्यको प्रस्ताव गरेको दावीसमेत गरेको छ ।

आफूले यो भन्दा पहिला कुनै पनि व्यवसायिक काम नगरेकाले कम्पनी निलम्बनमा परेको भन्ने समाचार शत प्रतिसत झुठो रहेको पनि बिराट पेट्रोलियमले गरेको छ । कम्पनीले निगमबाट लिएको अग्रिम रकम शतप्रतिशत बैंक ग्यारेण्टीमा भएकोले सुरक्षित रहेको पनि जनाएको छ । कम्पनीले आयत गर्ने इन्धन महंगो पर्नुको कारणबारे बिज्ञप्तीमा भनिएको छ– ‘हाल आयात गर्न लागिएको इन्धनको समय र परिस्थिति नितान्त फरक भएकाले उक्त कुरामा सामान्य अवस्था जस्तो नहुने र यो प्राइभेट डिल भएकाले सरकारी रुपमा पाउने छुट एवंम् प्रतिकुल पारवाहनका साथै खर्चले गर्दा केहि फरक पर्न गएपनि निगमसंगको सम्झौतामा हरेक ३÷३ दिनमा पुनरावलोकन गर्ने व्यवस्था व्यवस्था भएकाले संञ्चारमाध्यममा आउने समाचार भ्रामक भएको जानकारी गराउँछौं ।