Live Streaming

छब्बीस जनामा डेङ्गु देखियो

चितवन, २० कात्तिक । यस आर्थिक वर्षको तीन महिनामा चितवनमा २६ जनामा डेङ्गु रोग देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको डेङ्गु तथा चिकनगुनिया रोग नियन्त्रणसम्बन्धी लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा सो जानकारी दिइएको हो ।

 सो अवसरमा दिइएको जानकारी अनुसार ४५३ जनाको रक्त परीक्षण गर्दा २६ जनामा डेंगु भेटिएको हो । भरतपुर अस्पतालमा आएका बिरामीमध्ये २० जनामा र चितवन मेडिकल कलेज आएकामध्ये छ जनामा डेङ्गु भेटिएको हो । साउन महिनामा दुई, भदौमा पाँच र असोजमा १९ जनामा डेङ्गु भेटिएको हो । जसमध्ये सबैभन्दा बढी २० जना चितवनका रहेका छन् । 
कार्यालयका भेक्टर कन्टोल निरीक्षक राम केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७७० को रक्त परीक्षण गरिएकामा ११९ र आर्थिक वर्ष २०७०÷७१ मा दुई हजार २६१ जनाको रक्त परीक्षण गरिएकामा ३७१ जनामा डेङ्गु भेटिएको थियो । 
चितवनमा २०६७÷६८ मा सबैभन्दा बढी ७२९ जनामा डेङ्गु देखापर्दा उपचारका क्रममा पाँचजनाको मृत्युसमेत भएको केसीले बताउनुभयो । महामारीका रुपमा डेङ्गु देखापरेपछि त्यस वर्ष तीन हजार २९८ जनाको रक्त परीक्षण गरिएको उहाँले बताउनुभयो । 
कार्यक्रममा डेङ्गु रोगको परिचय, रोकथाम तथा नियन्त्रणका उपायका बारेमा छलफल गरिएको थियो भने डेङ्गु रोगको विगत र वर्तमानको अवस्थाका बारेमा जानकारी गराइएको थियो । सो अवसरमा कार्यालयका निमित्त प्रमुख नरहरि शर्मा चापागाईंले लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानको कार्ययोजना तयार गरिएको बताउनुभयो । डेङ्गु भेक्टर सर्वे गर्ने तरिका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको थियो । 

जिल्लाको भरतपुर उपमहानगरपालिका, रत्ननगर, माडी, खैरहनी, कालिका नगरपालिका बढी डेङ्गुको जोखिममा रहेको क्षेत्र हो । कार्यक्रममा राजनीतिक दल, विभिन्न कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता थियो । 
खोज र नष्ट गर अभियान 
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यही कात्तिक २२ देखि २४ गतेसम्म प्रभावित क्षेत्रमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ । भरतपुर उपमहानगरपालिका१ देखि १४ सम्म प्रथम चरणमा अभियान सञ्चालन गर्न लागिएको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताउनुभयो । 

लामो समयसम्म पानी जम्ने भाँडा, टायर, प्लास्टिकका भाँडा, टिनका डब्बा, ड्रम आदिमा लामखुट्टेले फूल पार्ने हुँदा त्यस्ता पानी जम्ने ठाउँ नष्ट गरिनेछ । डेङ्गु ज्वरो एक प्रकारको भाइरल रोग हो जुन एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग हो । रासस