नीजि सवारी साधनलाई लट अनुसार इन्धन वितरण गर्ने
काठमाडौं,२० कार्तिक । नेपाल आयल निगमले नीजि सवारी साधनलाई आज दोस्रो दिन पनि लट अनुसार पेट्रोल वितरण गर्दैछ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनको चर्को संकट भएपछि निगमले चीनबाट अनुदानमा ल्याएको पेट्रोल हिजोदेखि ३ दिनसम्म लट अनुसार वितरण सुरु गरेको हो । आज ३० देखि ५० को लटमा दर्ता भएका मोटरसाइकल र ६ देखि ८ लटका कारले राजधानीका ६२ वटा पेट्रोलपम्पबाट किन्न पाउनेछन् ।
यसअघि हिजो १ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकल र १ देखि ५ लटका कारले पेट्रोल किन्न पाएका थिए । भोली बाँकी ५० भन्दा माथिका लटका मोटरसाइकललाई र ८ लट भन्दा माथिका कारलाई पेट्रोल वितरण गरीने निगमले जनाएको छ । कारले १० तथा मोटरसाइकलले ५ लिटर पेट्रोल पाउनेछन् । इन्धनका लागि लाइनमा बसेर सवारीधनीले अनिवार्य रुपमा सम्वन्धित पम्पबाट टोकन समेत लिनु पर्नेछ ।
यसअघिका गरिएको वितरणमा उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि निगमले यसपटक अनिवार्य रुपमा टोकन बाँड्न पम्पहरुलाई निर्देशन दिएको हो । इन्धन लिनका लागि उपभोक्ताहरु गएराती देखि नै पेट्रोल पम्पमा लामो लाइन लागेका छन् ।