अर्थमन्त्री पौडेल, रक्षा रावल
काठमाडौं,१९ कार्तिक । नेकपा एमालेका केही मन्त्री थपेर प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीपरिषद विस्तारको तयारी गर्नुभएको छ । एमालेवाट भीम रावल उपप्रधान सहित रक्षा र विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का भएको एमाले स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका तर्फवाट सरकारमा पठाउने नेताको करिव टुङ्गो लागेको हो । यसअघि अर्थमन्त्रालय कस्लाइ दिने भन्नेमा विबाद भएपछि प्रधानमन्त्री चयन भएको एक महिना वित्न लागिसक्दा समेत प्रधानमन्त्रीले आफ्नै पार्टीका मन्त्री छान्न सक्नु भएको थिएन । यसअघि एमाले स्थाइ समितिले मापदण्ड सहित मन्त्री चयनको जिम्मा प्रधामनन्त्रीलाइ दिएको थियो ।
एमालेका तर्फवाट रवीन्द्र अधिकारी वा शेरधन राइ मध्ये एकजना संचार मन्त्री बन्ने संभावना रहेको एमाले स्रोतले जनायो । एमालेका पाँच मन्त्रीलाइ प्रधानमन्त्री ओलीले आजै सपथ गराउने तयारी गर्नुभएको एमाले स्रोतले जनाएको छ । एमालेले पाएका आठ मन्त्रालय मध्ये ३ जनाले यसअघि नै सपथ लिइसकेका थिए । राप्रपा, नेकपा माले र राष्ट्रिय जनमोर्चालाइ दिने मन्त्रालयको टुङ्गो लागिनसकेको एमालेका एक नेताले जानकारी दिए ।