आधा सिलिण्डर ग्यास वितरण प्रणाली अस्तव्यस्त
काठमाडौं,१९ कार्तिक। राजधानीमा सुरु गरिएको आधा सिलिण्डर ग्यास बितरण प्रणाली अस्तव्यस्त देखिएको छ । उपभोक्तालाई डिलरबाटमात्रै ग्यास विक्रि गर्ने भनिएपनि सिधै उद्योगहरुबाट ग्यास बिक्री भैरहेको छ । डिपोमा पालो पर्खिएका अधिकांश उपभोक्ता लामो पखाईपछि पनि ग्यास पाउन नसक्दा निराश बनेका छन् । ग्यास बितरण प्रभावकारी नभएकोबारे जिम्मेवार निकायहरु एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन् ।
ग्यास उद्योगीहरुको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरु उद्योगमा नै आएर लाईन बसेका कारण डिलरसम्म पु¥याउन कठिन भएको बताएको छ । डिलरसम्म ग्यास पु¥याउन सरकारले प्रभावकारी सुरक्षा प्रवन्ध मिलाउनुपर्ने संघको भनाई छ । यता ग्यास बिक्रेता महासंघले भने उद्योगीहरुको नाफाखोरी प्रवृत्तिका कारण उपभोक्ताले सास्ती खेप्नुपरेको आरोप लगाएको छ । महासंघका महासचिव चन्द्र थापाले सरकारले सुरक्षा दिन्छु भन्दा पनि उद्योगीहरुले डिलरसम्म ग्यास पु¥याउन नचाहेको बताउनुभयो ।
थापाले हामीसंग भन्नुभयो– ‘डिलरसम्म ग्यास पु¥याए उद्योगीहरुले राताराता ठुलठुला होटल रेष्टुरेन्टलाई ग्यास दिन सक्दैनन्, भनेजस्तो नाफामा बेच्न पाउँदैनन्, त्यसैले उनिहरुले डिलरसम्म पु¥याउनै चाहेका छैनन्।” थापाले ग्यास वितरणको अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । यता, सरकारले भने अनुगमनमा तिब्रता दिएको जनाएको छ । उपत्यकामा ग्यासको चरम अभावपछि सुरु गरिएको ७ दशमलव १ किलो ग्यास बितरणमा उद्योगीले मनोमानी गरेपछि कन्ट्रोल रुम स्थापना गरि सक्रिय बनाइएको आयल निगमले जनाएको छ ।
निगमले आफ्नो नजिक कहाँ ग्यास वितरण भइरहेको छ भन्ने जानकारी लिन ४२६२५८६ नम्बरमा फोन गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । खाना पकाउने ग्यासको चरम अभाव भएपछि निगमले उद्योगीहरुलाई १४ दशमलव २ किलो सट्टा आधा अर्थात ७ दशमलव १ किलो ग्यास बितरण गर्न अनुमति दिएपछि गत शनिबारदेखि त्यसै अनुसार विक्रि सुरु गरिएको हो ।