Live Streaming

​आज मन्त्रीपरिषद विस्तार हुने

काठमाडौं,१८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । नेकपा एमालेको स्थायी समितिको बैठकले पार्टि अध्यक्ष एबं प्रधानमन्त्री ओलीलाई मन्त्री छनोटको जिम्मेवारी दिएसँगै उहाँले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । पार्टीका नेताहरूसँग समेत परामर्श गरेर प्रधानमन्त्री ओलीले आज मन्त्री चयन गर्ने र सम्भव भए आजै सपथ ग्रहण हुने उहाँले बताउनुभयो ।

सरकार गठनको तीन साता वितिसक्दा पनि सरकारको नेतृत्वकर्ता दल एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा पठाउने नेताको टुंगो लगाउन नसक्दा प्रधानमन्त्री ओलीमाथी दवाव बढेको छ । पार्टिको स्थायी समिति बैठकले मन्त्री बनाउँदा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई प्राथमिकता दिनुपर्ने, आदिवासी जनजाति, दलित र महिलाको समानुपतिक प्रतिनिधित्व हुनुपर्ने, संविधानअनुसार विभाजन गरिएका सात प्रदेशको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने मापदण्ड तयार गरेको छ ।  

योग्यता, क्षमता तथा तराई, मधेस, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई निर्णय गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको हो । बैठकले विगतमा जस्तो मन्त्री चयन र हटाउने क्रममा देखिएको गल्ती नगरी अध्यक्षले विवेक र न्यायका आधारमा वर्तमान चुनौतीको सामना गर्नसक्ने, पार्टीप्रति बफादार, इतिहास बोकेका तथा राम्रा मध्ये राम्रो व्यक्ति पर्ने र आन्तरिक एकतालाई अझ सुदृढ हुनेगरी मन्त्री चयनका लागि स्थायी समितिले अधिकार दिएको हो ।

अन्य दलहरूलाई पनि मिलाउनुपर्ने भएकाले एमालेले ८ मन्त्रालयमा चित्त बुझाउने भएको छ । यसअघि एमालेले लिने भनेको स्थानीय विकास मन्त्रालयसमेत छाडेको छ । अब एमालेले रक्षा, अर्थ, स्वास्थ्य तथा जनसंख्या, संस्कृति तथा पर्यटन, सहरी विकास, सञ्चार, कानुन र उद्योग मन्त्रालयमा मात्र लिने भएको छ ।