Live Streaming

वीरगन्ज तनावग्रस्त, झडपपछि गोली चल्यो

क्रान्ति शाह

वीरगन्ज,१७ कार्तिक । वीरगन्ज बजार मंगलबार पनि बिहानैदेखि तनावग्रस्त बनेको छ । वीरगन्जमा स्थानीय प्रशासनले समोबार दिउँसोदेखि लगाएको कफ्र्यू मंगलबार बिहानैबाट मधेसी मोर्चाका कार्यकर्ताले अवज्ञा गरेर ठाँउ ठाँउमा प्रदर्शन गरेकाले नगरक्षेत्र तनाग्रस्त बनेको हो ।  कर्फ्यूको उल्लंघन गरेर मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि वीरगन्जको नगवा र ब्रम्ह चोकमा  झडप भएको छ । 

बाइपास सडकको नगवा चोकमा बिहान मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।झडपका क्रममा प्रहरीले २० राउण्ड भन्दा बढी हवाइ फायर गरेको छ । यस्तै बाइपास सडककै ब्रम्हचोकमा पनि मंगलवार बिहान प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 

सडक छेउमा राखिएका प्रदर्शनकारीका दुईवटा साइकल प्रहरीले जल्दै गरेको टायरमा हालेपछि झडप भएको हो । ब्रम्ह चोकमा भएको झडपका क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर पनि गरेको छ । यस्तै बाइपासकै लक्ष्मणवा चोकमा पनि मंगलबार बिहानैदेखि आन्दोलनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरिहेका छन् । वीरगन्जको चोक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । काम विशेषले सडकमा निस्किएका सर्वसाधरणलाई भने प्रहरीले अवरोध गरेको छैन । 

वीरगन्जमा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीचको झडपमा एक भारतीय युवकको मृत्यु भएलगत्तै स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सोमबार दिउँसो तीन बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको हो । 

वीरगन्जजीतपुर सडकखण्डको विभिन्न चोकमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले मंगलवार बिहानैदेखि प्रदर्शन शुरु गरेका छन् । गण्डक, लिपनीमाल, चैनपुर, परवानीपुर, नितनपुर र जीतपुरमा मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि चोकचोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् । यस्तै पर्साको देउरवाना बजारमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । देउरवानामा सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार पनि बन्द गराएको संघीय समावेशी मधेशी मोर्चाका नेता अजय मिश्राले जानकारी दिए । 

यसैबीच बाराको मटिअर्वामा पनि मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । मटिअर्वा चोकबाट प्रदर्शनकारीहरुले जुलुश निकालेर मटिअर्वा छोटी भन्सार कार्यालयमा जारी धर्नामा पुगी समर्थन जनाएका छन् । 

वीरगन्ज रक्सौल नाका ४१ दिनदेखि ठप्प 

वीरगन्ज रक्सौलको मितेरी पुलमा मधेसी मोर्चाको धर्ना र नकाकाबन्दी  मंगलवार ४१ औं दिन पनि जारी रहेको छ ।सोमबार बिहान प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीहरुलार्इ केहीबेर हटाएर नाका खोलेपनि सोमबारै बिहान ११ बजे देखि फेरि मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले मितेरी पुलमा धर्ना दिएर रक्सौलवीरगन्ज नाका ठप्प पारेका हुन् ।

सोमबार बिहान पौने पाँच बजे तिर मितेरी पुलमा पुगेको प्रहरीले लाठी चार्ज गरेरआन्दोलनकारी हटाएपछि वीरगन्जबाट दुई सय २९ वटा भारतीय खाली गाडी रक्सौल प्रवेश गरेका थिए । 

तर रक्सौलमा फसेका नेपालका मालवाहक गाडीहरु भने एउटा पनि वीरगन्ज छिर्न सकेनन् । सोमबार बिहान मितेरी पुलमा प्रदर्शनकारीहरु सुतेकै बेला करिब चार सयको संख्यामा गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गरेर धपाउनुका साथै धर्नास्थलका पाँचवटा टेन्ट र बाँस जलाइदिएका थिए । 

प्रहरीले मितेरी पुलको धर्नास्थलबाट सोमबार बिहान दुईजना भारतीय र तीन जना नेपालीसहति पाँचजना प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको थियो । 
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।