Live Streaming

​ग्यास डिलरबाटै वितरण गरिने

काठमाडौं,१७ कार्तिक । सरकारले काठमाडौं उपत्यकामा भित्रिएका ग्यास आजदेखि डिलर अर्थात पसलबाटै बिक्री गर्ने भएको छ । पछिल्लो समयमा आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेर उद्योग र गोदामबाटै ग्यास वितरण गरिरहे पनि उपभोक्तालाई बढी समस्या भएकाले स्थानीय बिक्रेतामार्फत नै ग्यास बाँड्नु पर्ने निर्णय नेपाल आयल निगमले गरेको हो । यसअनुसार उपभोक्ताले आज ११ बजेपछि नजिकै आफूले ग्यास लिने डिलरमा सम्पर्क गर्नुपर्ने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

तर पर्याप्त ग्यास नभएकाले सहजरुपमा सबै उपभोक्ताले भने अझै केही दिन ग्यास नपाउने पनि घिमिरेले बताउनुभयो । यस्तै ग्यास वितरण व्यवस्थित बनाउन सरकारले बनाएको कन्ट्रोल रुमले आजदेखि अनुगमन सुरु गर्दैछ ।  उपभोक्ताले ग्यास नपाउने र केही उद्योगले आफै बिक्री गर्न थालेपछि सरकारले वितरण प्रणाली व्यवस्थित गर्न सो संयन्त्र बनाएको हो । उपत्यकामा खाना पकाउने ग्यासको चरम अभावपछि सुरु गरिएको आधा सिलिण्डर ग्यास वितरणलाइ व्यवस्थित गर्न सरकारले तयार गरेको कन्ट्रोल रुमले आजदेखि उपत्यका भित्रिएको ग्यास, वितरण भएको क्षेत्रको लगत संकलन गर्नेछ ।