Live Streaming

खत्रीलाई शिरोमणि पुरस्कार

अन्‍नपूर्ण

 

पोखरा,१६ कार्तिक ।  पोखरेली युवा सांस्कृतिक परिवारले शिरोमणि पुरस्कार-२०७२ नेपाली ललितकला क्षेत्रका प्रसिद्ध मूर्तिकार ओम खत्रीलाई सम्मान गर्ने निर्णय गरेको छ।  मूर्तिकार खत्रीले दुई दशकदेखि ललितकलाअन्तर्गत नेपाली मूर्तिकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याएकाले पुरस्कार छनोट समितिले उनलाई सिफारिस गरेको बताएको छ।

 प्रतिभा छनोट समितिमा कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष सुरेश रानाभाट र सचिव अर्जुन अधिकारी रहेका थिए।  राष्ट्रियस्तरमा साहित्य, कला र संगीतका क्षेत्रमा विशिष्ट योगदान दिने एकजना स्रष्टालाई प्रदान गरिँदै आएको राष्ट्रियस्तरको पुरस्कार हो। यो पुरस्कार वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुईदुई वर्षमा प्रदान गरिँदै आएको छ। 

 यस अघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथ शर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरुभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा र अमृत गुरुङ सम्मानित भइसकेका छन्। १५ हजार रुपयाँसहितको यो पुरस्कार कात्तिक २१ गते पोखरामा दिइने परिवारका अध्यक्ष सुरेश रानाभाटले जानकारी दिएका छन्।

 २०२६ साल पुस ६ गते गल्कोट हटिया-४ बागलुङमा जन्मेका खत्रीले मूर्तिकलामा त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातक र दिल्ली विश्वविद्यालय भारतबाट प्रथम श्रेणीमा प्रथम भई स्नातकोत्तर तहसम्मको औपचारिक कला शिक्षा लिएका छन्। उनको अगुवाइमा हेटौंडा, बुटबल र पोखराको कोमागाने पार्कमा मूर्तिहरू स्थापना गरिएका छन्।

 नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वमूर्तिकला विभाग प्रमुख, त्रिभुवन विश्वविद्यालय मूर्तिकला विभागका विषय समिति सदस्य समकालीन नेपाली मूर्तिकला संघ आरम्भका अध्यक्ष खत्रीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दर्जनौं पटक कला प्रदर्शनी गरेका छन्।  ३५ औं राष्ट्रिय कला प्रदर्शनी २०६० मा प्रथम, अरनीको युवा कला पुरस्कार स्वर्ण पदकसहित र दिल्ली विश्वविद्यालय भारतबाट मूर्तिकलामा सर्वोत्कृष्ट पदकबाट सम्मानित भइसकेका छन्।