Live Streaming

​विरगञ्ज नाका फेरि बन्द

काठमाडौं,१६ कार्तिक । विरगञ्ज रक्सौल नाकाबाट सुरक्षाकर्मीले आज एकाबिहानै बल प्रयोग गरी हटाएका मधेशी मोर्चाका कार्यकर्ताले दशगजा क्षेत्रमा पुनः धर्ना सुरु गरेका छन् । सो नाकामा ४० दिनयता धर्ना दिएर सवारी साधन आउजाउमा अवरोध गर्दै आएका मधेशी मोर्चाका कार्यकर्तालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरी हटाएका थिए । सीमा क्षेत्रको सडकमै टेन्ट टाँगेर बसेका आन्दोलनकारीलाई हटाउने क्रममा केहीबेर झडपसमेत भएको थियो ।

नाकाको अवरोध हटेपछि नेपाली भूमिमा लामो समयदेखि रोकिएका झण्डै साढे २ सय भारतीय ट्रक सिमापारी गएको तर पारी रोकिएका एउटै गाडी नेपाल नभित्रिएको हाम्रा सहकर्मी क्रान्ति साहले बताएका छन् । उनका अनुसार, भारतीय गाडीहरु पारी नजाउञ्जेल सिमा क्षेत्रमा सुरक्षा कडाइ गरेका नेपाली सुरक्षाकर्मीहरु त्यसपछि पछि हटेका थिए । सुरक्षाकर्मीले छाडिदिएपछी मधेशी मोर्चाका कार्यकर्ताले दशगजामै पुन धर्ना सुरु गरेका हुन् । भारतीय ट्रक चालहरुले लामो समय सिमामा रोकिएर बस्नुपर्दा खर्च सकिएको र दुख पाएको भन्दै बिरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको कार्यालयमा केहीदिनयता धर्ना दिदै आएका थिए । मधेशी मोर्चाको अवरोधका कारण इन्धन बोकेका ट्यांकरसहित झण्डै साढे २ हजार मालवाहक साधन नेपाल आउन नपाई रक्सौलपारी रोकिएका छन् ।

यसैबिच, आज बिहान प्रहरीले बल प्रयोग गरी नाकाबाट धर्नाकारीलाई हटाएको विरोधमा मोर्चाका कार्यकर्ताले विरगञ्जका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले पर्साको मिर्जापुर प्रहरी चौकीमा आगजनी समेत गरेका छन् । आगजनीबाट सो चौकीका फर्निचर लगायत अन्य सामग्री जलेर नष्ट भएको छ । तराई आन्दोलनका कारण असुरक्षा बढेको भन्दै सो चौकीका प्रहरीलाई केही समयअघि अन्यत्रै सारिएपछि भवन खाली थियो ।