मन्त्रीचयनमा नेताबीच चर्काचर्की
बालकुमार नेपाल
काठमाडौं,१६ कार्तिक । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पार्टी अन्य नेताबीच मन्त्री चयनका विषयमा चर्काचर्की भएपछि आइतबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार स्थगित गरिएको छ। प्रधानमन्त्री ओलीले शनिबार पार्टीका शीर्ष नेतासँग अनौपचारिक छलफल गरी आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए।
मन्त्री बनाउने प्रक्रियाका विषय र मन्त्रालय भागबन्डामा समेत पार्टीमा छलफल नगरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले असन्तुष्टि प्रकट गरेपछि मन्त्रिपरिषद् विस्तार स्थगित भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा नेताहरूले पार्टीमा छलफल र निर्णय गरेरमात्र मन्त्री बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
महासचिव ईश्वर पोखरेलले मन्त्री चयनको मापदण्ड बनाउनुपर्ने र त्यसअनुसार प्रधानमन्त्रीलाई जिम्मा दिनुपर्ने प्रस्ताव गरेका थिए। प्रस्तावप्रति असहमति जनाउँदै नेपाल र खनाल बालुवाटारबाट बाहिरिएका थिए। छलफलमा उपाध्यक्ष भीम रावलले त पार्टीमा निर्णय नगरी खल्तीबाट ल्याइएको मन्त्री आफू नहुने चेतावनी दिएको एक सहभागीले बताए।
स्थायी कमिटीको बैठकमा निर्णय गरेरमात्र मन्त्री बनाउन दबाब परेपछि मन्त्रिपरिषद् विस्तारको टुंगो लागेको छैन। एमाले नेताहरूले राम्रा मन्त्रालय सबै एमाओवादीलाई दिएको भन्दै पहिलादेखि नै गुनासो गर्दै आएका थिए। उनीहरूले स्थानीय विकास मन्त्रालय पनि राप्रपा नेपाललाई दिन लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
राप्रपा नेपालमा समेत स्थानीय विकास मन्त्रालय जसरी पनि लिनुपर्ने दबाब परेको छ। यसअघि नेपाल-खनालले सरकारको नेतृत्व गर्दा पार्टी निर्णय भएन भनेर अहिलेकै प्रधानमन्त्रीले कुरा उठाएको भन्दै नेताहरूले पार्टीमा छलफल गरेर मात्र मन्त्री बनाउन दबाब दिएका थिए।
एमालेले यसअघि तीन मन्त्री बनाइसकेको छ। अग्नि खरेल कानुन, सोमप्रसाद पाण्डे उद्योग मन्त्रालय तोकिए पनि सत्यनारायण मण्डललाई मन्त्रालय तोकिएको छैन। एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीको सबै काम संस्थागत निर्णयका आधारमा हुनुपर्नेमा आफूहरूले जोड दिएको बताए। उनले पार्टीमा प्रधानमन्त्री व्यक्तिगत तवरबाट चल्न खोजेको आरोप लगाउँदै त्यसले ठीक नगर्ने बताए।