वीरगन्ज नाका खुलेपछि तीन सय ट्रक नेपाल भित्रिए
क्रान्ति शाह
धर्नाकारीबाट वीरगञ्ज क्षेत्रमा प्रदर्शन
काठमाडौं,१६ कार्तिक । वीरगन्ज रक्सौल नाकाको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा ४० दिन देखि धर्ना दिएर बसेका आन्दोलनकारीहरुलाई हटाएपछि वीरगन्ज खुलेको छ । बिहान नौ बजे सम्म झण्डै तीन सय भारतीय खाली ट्रकहरु रक्सौल छिरिसकेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।
धर्नामा बसेर नाकाबन्दी गरेका मधेशी मोर्चाका कार्यकर्तालाइ प्रहरीले सामेबार बिहान धपाएर नाका खुलाएको हो । प्रहरीले नाका खुलाए लगत्तै वीरगन्जमा ४० दिन देखि रोकिएर बसेका खाली भारतीय ट्रकहरु भारतको रक्सौल तर्फ जाने क्रम जारी रहेको छ।
बिहान नौ बजे सम्म झण्डै तीन सय भारतीय खाली ट्रकहरु रक्सौल छिरिसकेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । अहिले पनि वीरगन्जबाट भारतीय ट्रकहरु रक्सौल जाने क्रममा जारी छ।
वीरगन्जबाट भारतीय गाडीहरु रक्सौल छिर्ने क्रम जारी रहेपनि रक्सौलमा फसेका मालवाहक गाडीहरु भने वीरगन्ज छिरेका छैनन् । रक्सौलमा रोकिएका मालवाहक गाडीहरु पनि नेपाल छिराउने विषयमा भारतीय सुरक्षा अधिकारीहरुसंग छलफल भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
'जसरी हामीले नेपालमा फसेका भारतीय गाडीलाइ सीमापारी पठाइदियौ , यस्तै उताका सुरक्षाकर्मीले पनि रक्सौलमा फसेका गाडी दगगजा क्षेत्र कटाइदिनु पर्छ , हामी ती गाडी ल्याउन तयार छौ , यस बारेमा भारतीय सुरक्षा अधिकारीहरुसँग हाम्रो छलफल भइरहेको छ, उनले भने ।
रक्सौल कस्टमका सुपरिटेन्डेन्ट अरुण कुमार रजतले रक्सौलमा फसेका नेपालका लागि मालसामान लिएर आएका गाडीहरु नेपाल पठाइने बताए । नाका खुलीसकेको छ , अब यता फसेका गाडी पनि नेपाल पठाइन्छ , उनले भने , वीरगन्ज बाहेकका अरु सबै नाका पहिले नै खुलीसकेको छ , यो नाका मात्रै बन्द गर्नुको कुनै अर्थ छैन ।
बिहान प्रदर्शनकारीहरु सुतेकै बेला करिब चार सयको संख्यामा आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गरेर धपाउनुका साथै धर्नास्थलमा टाँगिएको पाँच वटा टेन्ट कपडाको (समीयाना) र बाँस जलाइदिएको धर्नामा रहेका संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।
प्रहरीले प्रदर्शनकारीको एउटा मोटरसाइकल र १२० थान मोबाइल फोन सेट पनि नियन्त्रणमा लिएर गएको नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शीव पटेलले बताए । प्रहरीको लाठीचार्जबाट १० जना प्रदर्शनकारी घाइते पनि भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राज कुमार यादवले बताए ।
यस्तै प्रहरीले बिहान धर्ना स्थलबाटा दूइ जना भारतीय र तीन नेपाली गरि पाँच जना प्रदर्शनकारीलाइ नियन्त्रणमा लिएको छ । उनिहरुलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । बिहान प्रहरीले हस्तक्षेप गरेपछि धर्ना स्थलबाट हटेका मधेशी मोर्चाका नेता कार्यकर्ताहरु अहिले फेरि मितेरी पुलमा जम्मा हुन थालेका छन् ।
यसैबिच मितेरी पुलमा बिहान प्रहरीले प्रदर्शनकारी माथि दमन गरेर हटाएको भन्दै वीरगन्जमा धमेशी दलका कार्यकर्ताले बिहानै देखि प्रदर्शन शुरु गरेका छन् ।
उनिहरुले वीरगन्ज भन्सार क्षेत्र , छपकैया , विर्ता , आदर्शनगर , माइस्थान , नगवा , घण्टाघर , रानीघाट , श्रीपुर , मुर्ली , पावरहाउस चोक , पिपरा , गण्डक , परवानीपुर लगायतका स्थानमा बिहानै देखि टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।संविधान निर्माण प्रति असन्तुष्ट मधेशी मोर्चाले गत असोज ७ गते देखि मितेरी पुलमा धर्ना दिएर वीरगन्ज रक्सौल नाका ठप्प पारेको थियो ।