२७ हजार लिटर चीनिया इन्धन आज काठमाडौं आउँदै
चीनबाट अनुदानमा ल्याएको २७ हजार लिटर इन्धन आज काठमाडौं ल्याइदैछ । चीनले अनुदानस्वरुप उपलब्ध गराउने १ हजार मेट्रिक टन पेट्रोलमध्ये उक्त परिमाणको इन्धन तिब्बतको केरुङ्बाट रसुवागढी नाका हुंदै हिजो बेलुका नेपाल ल्याइएको हो ।
नेपाल भित्रिएका ३ ट्याङ्कर इन्धन अहिले रसुवागढी भन्सार कार्यालयमा राखिएको सहकर्मी देवचन्द्र भट्टले जनाएका छन् । रसुवागढी पुगेका १२ वटा ट्यांकर मध्ये हिजो ३ वटा केरुङ पठाइएको थियो भने आज बाँकी ९ वटा ट्यांकरमध्ये पालैपालो केरुङ पठाइनेछ । नेपाललाई दीर्घकालीन रुपमा इन्धन उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा दुई देशबीच बेइजिङ्मा गत साता हस्ताक्षर भएपछि पहिलो चरणमा अनुदान सहायता अन्तर्गतको पेट्रोल नेपाल भित्रिएको हो ।