आधा सिलिण्डर ग्यास वितरण प्रभावकारी भएन
काठमाडौं,१५ कार्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यासको अभाव कम गर्न सुरु गरिएको आधा सिलिण्डर ग्यास विक्री प्रभावकारी हुन सकेको छैन । उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव देखिएपछि उद्योगीहरुले हिजोदेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेका हुन् ।
यद्यपि अधिकांश डिलरहरुमा ग्यास नपुगेकाले हिजो एकदमै न्युन मात्रामा मात्रै ग्यास वितरण गरिएकोे नेपाल एलपी ग्यास बिक्रेता महासंघले जनाएको छ । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघबीच डिलरमार्फत उपभोक्ताको पहिचान गरेर ग्यास बितरण गर्ने सहमति भएपनि उपभोक्ताहरु उद्योगमै लाइन लागेपछि डिलरसम्म पु¥याउन कठीन बनिरहेको उद्योग संघले जनाएको छ ।
यसअघि हिजो केहि ग्यास उद्योगबाट केहि सर्वसाधारणले आधा सिलिन्डर भएपनि ग्यास पाएपनि अधिकांशले पाएका छैनन् । ग्यास वितरण प्रभावकारी नभएपछि पहुँचवालाले मात्रै ग्यास पाउँदा आफूहरुले नपाएको सर्वसाधारणको आरोप छ । हिजो बिहानैदेखि उपभोक्ताहरुग्यास किन्न लाइन लागे पनि ग्यास नपाएपछि निराश भएर फर्किएका थिए । आज पनि बिहानैदेखि विभिन्न ग्यास कम्पनी र डिलर अगाडी ग्यास किन्नेहरुको लामो लाइन लागेको छ ।