जोगवनी नाकाबाट इन्धन भित्रियो
काठमाडौं,१३ कार्तिक । भारतीय पक्षले विराटनगरको जोगवनी नाकाबाट आज बिहानैदेखि इन्धनलाई प्राथमिकतामा राखेर सवारी साधन पठाउन थालेको छ । केहीबेर अघि सम्ममा इन्धन लोड भएका ७६ वटा सवारी साधन जोगवनी नाका हुँदै भित्रिएका छन् । ती मध्ये ६३ वटा डिजेल र नौ वटा पेट्रोलका ट्यांकर तथा चारवटा ग्यास बुलेट छन् । भारतीय पक्षले खाद्यान्न तथा औद्योगिक कच्चा पदार्थ बोकेका १७ वटा ट्रक, एशीडका पाँचवटा गाडी र फलाम लोड भएका चारवटा लहरी पठाएको छ ।
विराटनगर भन्सार कार्यालयका अनुसार अन्य सवारी साधनको तुलनामा बिहीबार इन्धान लोड भएका गाडी बढी भित्रिएको जनाएको छ । भन्सार स्रोतका अनुसार भारतले गरेको नाका बन्दी यताकै इन्धनको उच्च आयात बिहीबार भएको हो । सरकारले इन्धन भित्राउनका लागि चिनसंग सम्झौता गरेसंगै भारतीय पक्षले इन्धनलाई प्राथमिकतामा राखेर नेपाल पठाउन थालेको स्रोतको भनाइ छ ।