Live Streaming

'दासढुंगा घटना र राष्ट्रपति चयन नमिसाइदिनुस्'

बालकुमार नेपाल

काठमाडौं१३ कार्तिक । निशाकुसम र उषा किरण दुवैलाई जेठ ३ को घटनाले अझै पनि झस्काउँछ । त्यस दिन उनीहरूको स्कुल बिदा थियो। उनीहरू मालीगाउँस्थित फुपूको घरमा गएका थिए। पछि नक्सालस्थित डेरामा फर्कंदा घरभरि मानिस थिए।  हुन त उनीहरूको घरमा धेरै मानिस आउनु सामान्य थियो। तर त्यस दिन सधैंभन्दा निकै बढी थिए। निशाकुसुम र उषाकिरण क्रमशः आठ र पाँच वर्षका थिए। पछि जिप दुर्घटनामा जननेता मदन भण्डारीको निधन भएको समाचार सुनाएपछि उनीहरू पनि भक्कानिए । त्यो उनीहरूको जीवनमै अपूरणीय क्षति भएको दिन थियो।

 त्यस घटनाको २२ वर्षपछि बुधबार उनीहरूले सुखद समाचार सुनेका छन्। त्यस बेला बिधवा भएकी आमा विद्या भण्डारीलाई पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो। निशा र उषालाई यो खबर भण्डारी स्वयंले भन्न भ्याएकी थिइनन्। 

 उनीहरूले अनलाइनहरूमा आएको समाचार हेरेर विद्यालाई उम्मेदवार बनाएको थाहा पाएका थिए। 'पहिला त हामीलाई ममीले भन्नुभएन, पछि घर आएपछि उम्मेदवार बनाउने निर्णय भयो भनेर सुनाउनु भयो। हामीले उहाँलाई बधाई दियौं, निशाले भनिन्।

 भण्डारी राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा उनीहरू भण्डारी निवास बानेश्वरमा प्रसन्न मुद्रामा भेटिए।निशा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेकी छन् भने उषाले भारतबाट एमबीबीएस गरेकी छन्। 

 उनीहरूले आफ्नी आमा राष्ट्रपति भएकोमा खुसी त प्रकट गरे। तर २२ वर्षअगाडिको घटना र यसलाई कुनै तरिकाले नमिसाउन र तुलना नगर्नसमेत आग्रह गरे। 'त्यो कसैसँग पनि तुलना गर्न नमिल्ने क्षति हो, अहिले उहाँ राष्ट्रपति भएको विषय त्यो घटनासँग जोड्न मिल्दैन', निशाले भनिन्।

 उनीहरू यसलाई अचानक र अपेक्षा नगरेको विषय मान्न तयार छैनन्। निशाका अनुसार सधैं राजनीतिमा संघर्ष गरेकाले राष्ट्रपतिमा निर्वाचित हुनु यसैको परिणाम हो। 

 आफ्नी आमा पनि राजनीति बुझेको र बुबा पनि नेपालको लोकप्रिय राजनेता भएकाले यसलाई स्वाभाविक र खुसीका रूपमा लिएको उनीहरू बताउँछन् । उनीहरुलाई आमा भण्डारीप्रति संविधानले दिएको सीमितताभित्र बसेर काम गर्न सक्ने विश्वास छ।

 'उहाँले राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नसक्नु हुन्छ र गर्नुपर्छ भन्ने हामीलाई लाग्छ', दुवै दिदीबहिनीले भने। 'म उहाँकी छोरी भएर मात्र होइन, एक नेपाली नारी भएर हेर्दा पनि उहाँ राष्ट्रपति हुनु महिलाका लागि गर्वको विषय हो', निशाले भनिन्।

सासूसँग सडकमै भएको थियो विद्याको ढोगभेट

कुमार लुइँटेल

विराटनगर: नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थी राजनीतिका क्रममा केही वर्ष विराटनगरमा बिताएकी थिइन्। 

 उनको जीवनका महत्वपूर्ण स्मृतिहरू विराटनगरसँग जोडिएको छ। बुहारीका रूपमा सासूलाई कोसेली र उपहारसहित भेटघाट गर्नुपर्ने चलन छ। तर विद्याले भने विराटनगरको सडक किनारमा सासूसँग पहिलो ढोगभेट गरेकी थिइन्।

 पाँच वर्षअघि उर्लाबारीस्थित मदनका भाइको घरमा भएको भेटमा विद्याकी सासू चन्द्रकला भण्डारीले संवाददातासँग भनेकी थिइन, ‘भूमिगत भएकै अवस्थामा छोराले विवाह गरेको थाहा भए पनि धेरै समयसम्म बुहारी भेट्न पाइनँ। 

 बद्रीकेदार नाथको तीर्थ सकेर विराटनगरको ट्राफिकचोकको पारीपट्टि मदनले बाटोमा ल्याएर बुहारी चिनायो।' दुवैजना पार्टीमा रहेको र विवाह गरेको परिवारलाई पछि मात्र थाहा दिएले ढोगभेट पनि चन्द्रकलाले बाटोमै गरेको बताइन्। पछि विद्या उच्च ओहदामा पुगेपछि चन्द्रकला बारम्बार बुहारीसँगै बसेकी थिइन्।

 आफ्नो पार्टी राजनीतिमा प्रवेश गर्ने खुड्किलोका रूपमा विराटनगरबाट विद्यार्थी राजनीति आरम्भ गरेकी विद्याको डेराको विषयमा उनीबाहेक कसैलाई थाहा हुन्नथ्यो । धेरैजसो साथीको डेरामा बस्ने उनी मसिनो स्वरमा बोल्ने, कडा स्वर गरेर कसैले बोले रोइहाल्ने पिन्चे स्वभावकी रहेको उनका सहपाठी बताउँछन्।

 सहपाठी गंगा बरालले भनिन्, 'खासमा पार्टीभित्र महिलालाई संगठित गर्नका लागि उहाँलाई स्ववियुमा चुनाव लड्न भनिएको थियो। विद्यार्थी राजनीतिसँगै पार्टी संगठनमै धेरै खटिनुहुन्थ्यो।' दुब्ली र मिजासिली विद्या आफ्नो काम र पार्टीले दिएको जिम्मेवारीमा प्रतिबद्ध रहने गरेको बराल स्मरण गर्छिन्।

 उति बेला विराटनगरको महेन्द्र मोरङ क्याम्पस विद्यार्थी राजनीतिका लागि निकै चर्चित थियो। भण्डारी २०४० साल वैशाख २ गते भएको चुनावमा अनेरास्ववियु पाँचौंका तर्फबाट स्ववियु कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। 

 एमाले मोरङका अध्यक्ष महेश रेग्मीले भने, ‘पछि मदन भण्डारीसँग पनि भूमिगत कालमा धेरै समयसम्म विराटनगरमै बसेर पार्टीको काम गर्नुभयो । उहाँसँग हामीहरू पार्टीका गतिविधि जनस्तरसम्म फैलाउन खटिने गरेका थियौं।'

 विराटनगरमा बायोलोजी लिएर साइन्स पढेकी सिन्धुलीकी गंगा बराल दिदीको घरमा बसेकी थिइन्। विद्या उनको कोठामा आएर खाना खान्थिन् । गंगा भन्छिन्, ‘विद्यार्थी थोरै थिए, त्यसमा महिला त अझ धेरै कम। मेरो कोठामा उहाँ आए पनि मलाई कहिल्यै आफ्नो कोठा देखाउनु भएन।'

  पिचरास्थित गंगाको दिदीको घरमा दुईपटक मदन भण्डारी र विद्या साथै आएका थिए। गंगा भन्छिन्, 'मदनले चाँहि तिमीहरूले के पढ्यौ भनेर हामीलाई सोध्नुहुन्थ्यो।'ठूली छोरी पेटमा छँदा विद्याले सिन्धुलीको जुनार खुब खाएकी थिइन्। त्यसको चाँजोपाँजो पनि गंगाले नै गरिदिन्थिन्। 

 २०४६ पछि विराटनगरको पिछरामा गंगालाई धेरैले भन्थे, 'तिमी त ठूली नेतासँगको संगतमा पो रहिछौ, हामीलाई किन नभनेको?' भोजपुरका सभासद् कृपासुर शेर्पाले विद्या पहिलो राष्ट्रपति भएकोमा जिल्लावासी हर्षले गदगद भएको बताउँदै भने, 'उहाँको जन्मस्थानसहित जिल्लाभरि दीपावली गरिएको छ।'

 विद्याले मोरङको बेलबारीस्थित गोदावरी बोर्डिङमा ५ वर्षजति पढाइन्। त्यहाँ डेरा लिएर बसेकी उनले छोरीको पालनपोषणका साथै पार्टीले दिएको जिम्मेवारी पनि निष्ठाका साथ निर्वाह गरेको बेलबारीका बासिन्दाले भण्डारी राष्ट्रपति भएपछि पुनः स्मरण गर्दै खुसीयाली मनाएका छन्। मदन भण्डारीको इटहरास्थित घरमा पनि दीपावली गरेर खुसीयाली मनाइएको छ।