भोलीदेखि आधा सिलिण्डर ग्यास वितरण
काठमाडौं,१३ कार्तिक । उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव भएपछि उद्योगीहरुले भोलीदेखि आधा सिलिण्डर ग्यास वितरण गर्ने भएका छन् । भारतले गरेको अघोषित नाकाबन्दी कारण राजधानीमा अधिकांशको चुलो निभेपछि उद्योगीहरुले १४ दशमलव २ किलो ग्यासलाई घटाएर ७ दशमलव १ किलोको दरले ग्यास वितरण गर्न लागेका हुन् । हाल वितरणमा रहेको आधा क्षमताको ग्यास वितरण गरिएपछि मूल्य पनि आधा मात्रै लिने तयारी गरिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
जसअनुसार प्रतिसिलिन्डर १ हजार ४ सय मा बिक्रीवितरण हुँदै आएको ग्यास रु ७ सयमा बिक्री गरिनेछ । तराईका विभिन्न नाकामा रोकिएका ग्यासको बुलेट ल्याएर वितरण गर्ने तयारी गरिएको र आज बेलुकासम्म भारतबाट आएका २५ बुलेट ग्यास राजधानीमा पु¥याउने घिमिरेले जानकारी दिनुभयो ।
सामान्य अवस्थामा राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग रहेको छ । नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास आयात हुने गरे पनि हाल न्युन मात्रा आउने गरेको छ । दुई महिनादेखि बन्द भएको रक्सौल नाकामा हाल ग्यास बोकेका ३ सय बुलेट रोकिएका नेपाल आयल निगमले जनाएको छ । अन्य नाकामा करीब ५० बुलेट रोकिएका छन् भने करीब ५० बुलेट तराईमा भित्रिएको निगमले जनाएको छ ।