उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता आज
काठमाडौं,१३ कार्तिक । देशको दोश्रो उपराष्ट्रपति पदका लागि आज उम्मेदवारी प्रस्ताव दर्ता गराउने समय तोकिएको छ । व्यवस्थापिका संसदको कार्यतालिका अनुसार आज १० बजेदेखि १ बजेसम्म उमेदवारी दर्ता गराइनेछ । तोकिएको अवधि भित्र दर्ता गराइएको प्रस्ताव बमोजिमको उपराष्ट्रपति पदको उम्मेदवारको नामावली प्रकाशन गरिने छ । सहमतिका आधारमा उपराष्ट्रपतिको निर्वाचन गरिने समय सकिएपछि कार्यतालिका अनुसार बहुमतीय प्रक्रियामा प्रवेश गरेको हो ।
दुई वा सो भन्दा बढि उम्मेदवार भएमा निर्वाचन कार्यक्रम अनुसार भोलि दिउँसो ३ बजे व्यवस्थापिका–संसद्मा उपराष्ट्रपति चयनका लागि गोप्य मतदान हुनेछ । सत्तारुढ गठबन्धनका तर्फबाट एकिकृत माओवादी नेता नन्दकिशोर पुन उपराष्ट्रपति पदको उम्मेदवार बनाउने तयारी भएको छ ।
तर सत्तारुढ दलभित्र मधेसी या थारु समुदायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने चर्चा पनि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने उपराष्ट्रपति पदमा सांसद अमिए कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपति पदको लागि बुधबार सम्पन्न निर्वाचनमा कँग्रेसका कुल बहाद्ुर गुरुङलाई पराजित गर्दै सत्तारुढ गठबन्धनकी उम्मेदवार विद्या भण्डारी निर्वाचित हुनुभएको थियो ।