Live Streaming

​मित्र राष्ट्रहरुको विद्यालाई बधाई

काठमाडौं,१२ कार्तिक । नेपालमा नयाँ राष्ट्रपति चयन भएकोमा विभिन्न देशले बधाइ तथा शुभकामना दिएका छन् । छिमेकी देश चीन, भारत र अमेरिका लगायतका देशले नयाँ राष्ट्रपतिको कार्यकालमा नेपालले थप प्रगति गर्ने विश्वास गरेका छन । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको नयाँ राष्ट्रपति चयन भएकोमा विद्या भण्डारीलाई बधाइ तथा शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले भण्डारीलाई भारत भ्रमणको निम्तो दिनुका साथै उहाँको कार्यकालमा दुई देशको सम्वन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिएको छ ।

यसैबीच नेपालका लागि भारतीय राजदुत रणजीत रायले पनि भण्डारी निवास बानेश्वर हाइटमै पुगेर बधाइ तथा शुभकामना दिनुभएको छ । संयुक्त राज्य अमेरिकाले पनि नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई अभूतपूर्ण सफलताको कामना गर्दै बधाइ तथा शुभकामना दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जन कर्बीले नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्ने बताउनुभयो ।

उहाँले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । नेपाली जनतासँग काँधमा काँध मिलाएर प्रजातन्त्र र भूकम्पपछिको पुनः निर्माणका लागि अघि बढ्न तयार गरेको पनि उहाँले बताउनुभएको छ । त्यसैगरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङका तर्फबाट राजदुत ऊ छुन्ताइले बधाई दिनुभएको छ । भण्डारीको निवास बानेश्वर हाइट पुगी राजदुत छुन्ताइले हिजोनै बधाई दिनुभएको हो ।