Live Streaming

अब आधा सिलिण्डर ग्यास मात्र पाइने

काठमाडौं,१२ कात्र्तिक । भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएपछि सरकारले आधा सिलिण्डर ग्यास मात्र विक्री गर्ने निर्णय गरेको छ । ग्यासको चरम अभावलाई केहि सहज बनाउन नेपाल आयल निगमले एलपीजी ग्यास सिलिन्डरमा आधा अर्थात ७ दशमलव १ किलो तौल भरेर वितरण गर्न सर्कुलर जारी गरेको हो ।

निगमका प्रवक्ता दीपक बरालले तत्कालको ग्यास अभावलाई हटाउन आधा ग्यास भरेर सात सय रुपैयाँमा दिने निर्णय भएको जानकारी दिनुभयो । एलपीजी ग्यास संघका अध्यक्ष शिवप्रसाद घिमिरेले पनि सरकारबाट निर्णय आइसकेकाले सबै ग्यास उद्योगीहरुलाई त्यसै अनुसार सर्कुलर जारी गरिसकिएको बताउनुभयो ।

नाकाबन्दीले ग्यास अभावमा सर्वसाधारणलाई सास्ती भएपछि केहि विशेष अवधिको लागि साविकको तौलमा आधा घटाइ बढी सिलिण्डर बेच्न पाउने निर्णय भएको हो । यो निर्णयपछि यसअघिको एउटा सिलिण्डरले २ जनाको अभाव टार्न सक्ने निगमको दावी छ ।