सरकार र मधेशी मोर्चाबीच आज पुन वार्ता हुँंदै
काठमाडौं,१२ कात्र्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आज पुन वार्ता हुँदैछ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सरकारी वार्ता टोली र मोर्चाका नेताहरुबीच गत आइतवार भएको वार्ता आज दिउँंसो १ बजे पुन बस्ने गरी स्थगित भएको थियो ।
आइवारको वार्ताले मोर्चाको माग अनुसार आन्दोलनकारीबिरुद्धको मुद्दा खारेज, घाइतेको उपचार, मृतकलाई सहीद घोषणा र परिवारलाई क्षतिपूर्ति लगायतका बिषयको संयोजन गर्न सरकारी वार्ता टोली सदस्य कानुनमन्त्री अग्नि खरेल र मोर्चाका वार्ता टोली सदस्य लालबाबु राउत रहेको २ सदस्यीय समिति गठन गरेको थियो ।
प्रदेश सिमांकनमा हेरफेर, समाबेशी समानुपातिक सिद्धान्त लागू हुनुपर्ने, जनसङख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने लगायत माग राख्दै मधेसी दलले तराईमा २ महिनायता आन्दोलन जारी राखेका छन् । वार्ता जारी रहेकाले आन्दोलनका कार्यक्रम स्थगित गर्न सरकारले गरेको आग्रह मधेशी मोर्चाले अस्विकार गर्दै आएको छ ।