Live Streaming

​नयाँ राष्ट्रपतिका लागि मतदान सम्पन्न,साँंझ पाँंच बजेसम्म परिणाम आउने

काठमाडौं,११ कात्र्तिक । नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा मतदान सम्पन्न भएको छ । संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा भएको मतदानमा ५ सय ४९ सांसदले मतदान गरेका छन् । संसदमा हाल कायम ५ सय ९७ सांसद् मध्ये ५ सय ४९ जनाले मतदान गरेपनि मधेशी मोर्चामा आबद्ध ४७ जना सांसद मतदान प्रक्रियामा सहभागि भएनन् ।

राष्ट्रपति निर्वाचन बहिस्कार गर्ने मधेशी मोर्चाको निर्णयका बावजुद सद्भावना पार्टीकी सांसद माधुरी रानी साह भने मतदान प्रक्रियामा सहभागि भएकी छन् । सभामुख ओनसरी घर्तीले पनि राष्टपति निर्वाचनमा मतदान गर्नु भएन । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट पूर्व महामन्त्री कुलबहादुर गुरुङ चुनाबी मैदानमा हुनुहुन्छ ।

राष्ट्रपति चयनको लागि व्यवस्थापिका संसदमा बिहान ११ बजे सुरु भएको मतदान दिउँसो २ बजेसम्म सम्पन्न भएको थियो । संसदमा बहाल ५ सय ९७ सांसद् मध्ये २ सय ९९ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् । राष्टपति निर्वाचनमा सम्पन्न मतदानको मतगणना कार्य जारी रहेको छ ।

आज साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्नुहुने छ । संसदमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत रहेका कारण क्रश भोटिङ नभएको अबस्थामा सत्तारुढ गठबन्दनकी उमेदवार भण्डारी निर्वाचित हुने प्रवल संभावना छ । राष्ट्रपतिको निर्वाचन गोप्य मतदानवाट भएकोले केही सांसदले क्रश भोटिङ गरेको आशंका गरिएको छ । उपराष्ट्रपतिको निर्वाचन भने आगमी १४ गते शनिवारमात्र हुने भएको छ ।