Live Streaming

पूर्वी नेपालमा रगतको चरम अभाव

धरान११ कात्तिक । बडादसैं र मधेस आन्दोलनका कारण पूर्वी नेपालमा रगतको चरम अभाव भएको छ। दाताहरूले रक्तदान गर्न छाडेपछि पूर्वका सुनसरी, मोरङ र झापा जिल्लामा रगतको चरम अभाव भएको हो। रगत अभाव भएसँगै पूर्वका ठूला अस्पतालहरूमा शल्यक्रिया सेवासमेत प्रभावित भएको छ।

रगत अभाव भएपछि बढी मात्रामा गर्भवती महिलाको शल्यक्रिया प्रभावित भएको छ। पूर्वकै ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आउने विभिन्न प्रकारका बिरामीको शल्यक्रिया सेवा प्रभावित भएको छ। रगत अभावका कारण प्रतिष्ठान आउने गर्भवती महिलाहरूको शल्यक्रिया सेवासमेत प्रभावित बन्न पुगेको प्रतिष्ठानको प्रसूति वार्डका डाक्टर मोहनचन्द्र रेग्मीले बताए।

 हप्ता दिनदेखि धरान ब्लड बैंकमा रगतको अभाव भएको रेडक्रस सुनसरीका मन्त्री मुकुल कायस्थले बताए। रेडक्रस सुनसरीले बीपी प्रतिष्ठान हाताभित्र सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा अहिले ए नेगेटिभ,एबी नेगेटिभ, ओ नेगेटिभ, बी नेगेटिभ ग्रुपको रगत पूर्णरूपमा सकिएको छ। 

 त्यस्तै केन्द्रमा ए पोजेटिभ, एबी पोजेटिभ, ओ पोजेटिभ, बी पोजेटिभ ग्रुपको रगतसमेत अभाव भएको मन्त्री कायस्थले बताए। सबै समूहको रगत सकिएपछि धरान, विराटनगर, विर्तामोड, इटहरीका अस्पतालमा भर्ना भएका बिरामीहरूको उपचारमा समेत समस्या देखिएको छ।

रगत अभावकै कारण बीपी प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर, कोसी अञ्चल अस्पताल विराटनगरमा सुत्केरी गराउन आउने महिलाहरूको शल्यक्रिया सेवा प्रभावित भएको छ।

रगतको चरम अभाव भएपछि रेडक्रस सुनसरीले पूर्वका विभिन्न संघसंस्थाहरूलाई रक्तदान गर्न अनुरोध गरेको छ। रगत अभावकै कारण बीपी प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर, कोसी अञ्चल अस्पताल विराटनगरमा सुत्केरी गराउन आउने महिलाहरूको शल्यक्रिया सेवा प्रभावित भएको छ। 

 सबैभन्दा बढी प्रयोग हुँदै आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरमा रहेको रेडक्रस सोसाइटीले सञ्चालन भएको ब्लड बैंकमा समेत रगतको चरम अभाव भएपछि पूर्वमा रगतको अभाव भएको रेडक्रस सुनसरीका कर्मचारी किरण कार्कीले बताए।

 दैनिक ३० देखि ५० पिन्ट रगत वितरण गर्दै आएको धरान ब्लड बैंकमा समेत रगत सकिएपछि बिरामीलाई थप समस्या भएको छ। विराटनगर ब्लड बैंकका प्राविधिक शिवप्रसाद यादवले पनि विराटनगरमा रगतको चरम अभाव भएको बताए।  

उनले ए पोजेटिभ रगत पूर्णरूपमा सकिएको र अन्य ग्रुपका रगत पनि न्यून रहेको जानकारी दिए। दसैं तिहारको तयारी र तराईमा मधेस आन्दोलनका कारण संघसस्थाहरूले रक्तदान गर्न छाडेपछि पूर्वमा रगतको चरम अभाव भएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले बताए।  उनले संघसंस्था र व्यक्तिहरूलाई रगत दान गरी बिरामीको उपचार सहज बनाइदिन आग्रह गरेका छन्।