नाकाबन्दीपछि सोलारको प्रयोग बढ्यो
गोरखा, ११ कात्तिक । भारतले लगाएको नाकाबन्दीपछि गोरखामा सौर्य घरेलु प्रणालीको प्रयोग ह्वात्तै बढेको छ । ग्यासको विकल्पमा दुर्गम क्षेत्रका स्थानीयवासीले विद्युत्को प्रयोग बढाएका छन् । केन्द्रीय विद्युत् प्रशारण लाइनको पहुँच पुगेको गोरखा बजार, आरुघाट बजार, पालुङटार क्षेत्रमा पनि सोलार ऊर्जाको प्रयोग बढेको छ । सोलार ऊर्जाबाट मोबाइल चार्ज गर्नेदेखि खाना पकाउनेसम्मको काम गर्दैआएको गुम्दा निवासी सुनिल गुरुङ बताउनुहुन्छ ।
उत्तरी भेगका ३० गाविसका स्थानीय बासिन्दाले भूकम्पपछि सोलारको प्रयोग बढाएका छन् । सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय सङ्घसंस्थाको अनुदान सहयोगमा सोलार ऊर्जाको प्रयोग बढेको हो । भूकम्पले जलविद्युत् आयोजना बिग्रेपछि र नाकाबन्दीले ग्यास सकिएपछि सौर्य ऊर्जा प्रविधिको प्रयोग बढेको जिल्ला विकास समिति गोरखाअन्तर्गतको वैकल्पिक ऊर्जा तथा वातावरण शाखाका अधिकृत कुलराज चालिसेले बताउनुभयो ।
केराँैंजा, सिर्दिवासस्थित बुद्ध आवासीय माध्यामिक विद्यालयको होस्टेलमा र मान्वुको भवानी उमाविको होस्टेल र लापु गाविसका भूकम्पपीडितलाई सोलार कुकर वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीले दश वाटपिक भन्दा कम क्षमताको दुई हजार ९९० वटा सोलार लाइट हंशपुर, खरिबोट, मुच्चोक, जौबारी गाविसमा वितरण गरेको अधिकृत चासिलेको भनाइ छ ।
अक्सफार्मले बङ्कोट र सौरपानी गाविसका भूकम्पपीडितलाई गरी एक हजार ८०० वटा सोलार बत्ती वितरण गरिसकेको छ । हिमालय बैंक लिमिटेडले छोप्राक गाविसमा १५० थान र ताप्लेमा ५० थान सोलार डिलाइट सोलार लालटिन वितरण गरेको हो । ‘वल्ड भिजन’ नेपालले देउराली, पालुङ्टार, धुवाँकोट गाविसमा ६७७ थान सोलार वितरण गरेको छ । ‘अक्सफार्मले घ्याल्चोक, सौरपानी, लाप्राक, गुम्दा, सिम्जुङ गाविसमा चार हजार १८० थान सोलार बाँडेको छ’ अधिकृत चालिसेले भन्नुभयो, ‘सोलारको प्रयोगपछि भूकम्पपीडित अध्याँरोमा बस्नु परेको छैन ।’ ती सोलार १० वाटपिक क्षमताका हुन् । सदरमुकामको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ताकुकोटका भूकम्पपीडितलाई ४५० थान सौर्य विद्युत्त प्रणाली वितरण गरेको छ । ‘पिपुल इन निडले बिहीमा ४२, छेकम्पारमा २०६, चुम्चेतमा २५० र केराबारीमा ३१ थान सोलार बत्ती वितरण गरेको छ ।
नेपाल दलित महिला उत्थान सङ्घले मनकामना, घैरुङ, फुजेल, बक्राङ, भूम्लिचोकलगायत गाविसका विभिन्न विद्यालयलाई सोलार वितरण गरेको छ । १८० थान सोलार ६० वटा विद्यालयलाई वितरण गरिएको ऊर्जा तथा वातावरण शाखाले जनाएको छ ।
सोलार ऊर्जाबाट बत्ती बाल्न, कुटानी पिसानी मिल सञ्चालन गर्न, पानी पम्पिङ गर्ने र सौर्य कुकरमा खाना पकाउन सकिन्छ । सरकार र विभिन्न सङ्घसंस्थाले सोलार खरिदमा अनुदान, छुट दिएपछि सोलारको प्रयोग बढ्दै गएको हो ।
व्यक्तिगत रुपमा पनि सोलार प्यानल खरिद गरी घरमा जडान गर्नेको सङ्ख्या बढेको अधिकृत चालिसेले बताउनुभयो । व्यक्तिगत रुपमा खरिद गरी प्रयोगमा ल्याएकाहरुको तथ्याङ्क शाखासँग हुँदैन । रासस