मिथिला क्षेत्रमा दुई दिन कोजाग्रत पर्व मनाइयो
गौशाला, ११ कात्तिक । हिन्दुहरुले धुमधामका साथ मनाउने कोजाग्रत पर्व नेपाल र भारतसहितका मिथिला क्षेत्रमा दुई दिन मनाइएको छ । मिथिलाको राजधानी मानिएको जनकपुरधाम विश्वप्रसिद्ध जानकी मन्दिरमा कोजाग्रत पूर्णिमा सोमबार राति नै मनाइएको छ भने सोही ठाउँमा अवस्थित राममन्दिरमा मङ्गलबार कोजाग्रत पर्व मनाइएको छ । मिथिलाका विद्धान आचार्य पण्डित सन्तोष पाण्डेयकाअनुसार कोजाग्रत पूर्णिमाको उदय मङ्गलबार रहेकाले कोजाग्रत पर्व मिथिलाको अधिकांश भागमा मङ्गलबार नै मनाइएको छ ।
यता जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकी मन्दिरमा मिथिलाको परम्परा अनुसार कोजाग्रत पूर्णिमा सोमबार मनाइएको छ । सोमबार जानकी मन्दिरमा कोजाग्रत पर्व विशेष धुमधामका साथ मनाउनका लागि महोत्तरी जिल्लाको दनौलीबाट बिहान १०१ थान भार (कोसेली) मन्दिरमा आएको थियो । सो अवसरमा दनौलीबाट जानकी मन्दिरमा पान, मख्खनलगायत विभिन्न मिठाइको भार आएको उत्तराधिकारी महन्त वैष्णवले जनाउनुभयो । यता नेपाली पात्रोका अनुसार कोजाग्रत पूर्णिमा मङ्गलबार परेको छ ।
तर जानकी मन्दिरमा एक दिन अगावै आयोजना गरिएको कोजाग्रत पर्वमा श्रद्धालुको सहभागिता निकै बढेको थियो । पहाडी समुदायमा दसैँंको टीका पूर्णिमासम्म मान्यजनबाट लगाउने चलन छ । पूर्णिमाको दिन दसैँकों टीका सम्पन्न हुन्छ । तर राममन्दिरका महन्त राम गिरिले कोजाग्रत पूर्णिमा मङ्गलबार परेको बताउँदै राम मन्दिरलगायतमा मङ्गलबार पूर्णिमाको दिन कोजाग्रत पर्व मनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तिथिको हेरफेरले कहिलेकाँही समस्या हुने गर्दछ ।’
मिथिलामा कोजाग्रत पर्व बाहुन, कायस्थ र सोनारलगायतका जातिमा विशेष धुमधामका साथ मनाइने गरिन्छ । यस पर्वको अवसरमा ती जातिका नवविवाहिता महिलाको माइतबाट कोजाग्रत पूर्णिमामा बेहुलाको घरमा पान, मखान, मिठाइलगायतको भार पठाउने चलन छ । साथै, कोजाग्रत पूर्णिमाको दिन मिथिलाको हरेक व्यक्ति महिला, पुरुष, बालबालिका वा वृद्धवृद्धा सबैले पान, मखान खाने चलन छ । रासस