राष्ट्रपतिका लागि मतदान जारी
काठमाडौं,११ कार्तिक । नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा मतदान भइरहेको छ । मुलुकको दोश्रो राष्ट्रपतिका लागि सत्तारुढ दलका तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेसबाट पूर्व महामन्त्री कुलबहादुर गुरुङ चुनाबी मैदानमा हुनुहुन्छ ।
राष्ट्रपति चयनको लागि व्यवस्थापिका संसदमा बिहान ११ बजे सुरु भएको मतदान दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । संसद् सचिवालयले मतदानका लागि नयाँ बानेश्बर स्थित संसद भवनको ल्होत्से हलमा तीन वटा बुथको व्यवस्था गरेको छ । सांसदहरु लामवद्ध भएर मतदान गरिरहेका छन् । संसदमा हाल ५ सय ९७ सांसद् कायम रहेकोमा २ सय ९९ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् । मधेशी मोर्चाका ४२ सांसद भने यो निर्बाचनमा उपस्थित नहुने भएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार, दिउँंसो २ बजे मतदान सकिएपछि साढे २ बजेबाट मतगणना हुनेछ । आज साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्नुहुने छ । उपराष्ट्रपतिको निर्वाचन भने आगमी १४ गते शनिवारमात्र हुने भएको छ । राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनु पर्ने संवैधानिक व्यवस्थाका कारण राष्ट्रपति चयन गरेपछि मात्र उपराष्ट्रपतिको चुनाव गर्ने गरी संसद् सचिवालयले हिजो निर्वाचन कार्यक्रम परिवर्तन गरेको हो । यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आज एकैदिन हुने कार्यक्रम थियो ।