Live Streaming

आईओसीले फेरि इन्धन रोक्यो

राजेश बर्मा

काठमाडौं,,२८ असोज ।भारतले रक्सौल डिपोबाट इन्धन उपलब्ध गराउन आनाकानी गर्दा नेपाल आयल निगम (एनओसी) ले झन्डै डेढ गुणा अतिरिक्त व्ययभार बेहोरेर अन्य डिपोबाट इन्धन आपूर्ति गर्दै आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पछिल्लो २२ दिनदेखि रक्सौल नाकाबाट निगमलाई इन्धन उपलब्ध गराएको छैन । पछिल्लोपटक असोज ५ गते आईओसीले रक्सौल नाकाबाट इन्धन उपलब्ध गराएको थियो।

 यसअघि उपत्यकामा खपत हुने कुल मागको ९५ प्रतिशत इन्धन रक्सौल नाकाबाट आपूर्ति हुन्थ्यो। रक्सौल डिपो उपत्यकाबाट नजिक भएकाले सोही स्थानबाट कुल मागको ९५ प्रतिशत त्यहींबाट आपूर्ति गरिन्थ्यो। 'सबैभन्दा छोटो मार्ग रक्सौल डिपो भएकाले उपत्यकामा खपत हुने सबै इन्धन त्यहींबाट आपूर्ति हुन्थ्यो,' निगमका प्रवक्ता दीपक बरालले बुधबार अन्नपूर्णसँग भने, 'तर ६ गतेदेखि उक्त नाकाबाट आईओसीले इन्धन दिन नमानेपछि अहिले डेढ गुणा अतिरिक्त ढुवानी खर्चमा अन्य तीन नाकाबाट इन्धन आपूर्ति गर्दै आएका छौं।'

 रक्सौल नाका अवरुद्ध भएपछि एनओसीले अहिले झन्डै प्रतिलिटरमा ३ रुपैयाँ अतिरिक्त ढुवानी खर्च जोडेर अन्य नाकाबाट इन्धन आपूर्ति गर्दै आएको छ। निगमले अहिले प्रतिलिटर इन्धनलाई ढुवानी खर्चमात्रै पाँच रुपैयाँ गर्दै आएको छ। रक्सौलबाट ढुवानी गर्दा प्रतिलिटर दुई रुपैयाँ ढुवानी खर्च लाग्थ्यो।निगमले अहिले नेपालगन्ज नजिकैको गोन्डा डिपो, भैरहवानजिकैको बेतालपुर डिपो, धनगढी नजिकैको बन्थरा डिपो, विराटनगर नजिकैको बरौनी र काँकडभिट्टा नजिकैको सिलिगुडी डिपोबाट अतिरिक्त खर्च गरेर इन्धन ल्याइरहेको छ । वीरगन्जनजिकैको रक्सौल डिपोबाट इन्धन आपूर्ति ठप्प छ।

 निगमका अनुसार आईओसीले पछिल्लो समयमा 'माथि' को आदेश भन्दै रक्सौलबाट इन्धन उपलब्ध गराउन बन्द गरेको छ। प्रवक्ता बरालका अनुसार रक्सौलबाहेक अन्य स्थानबाट दुई लाख लिटर इन्धन आपूर्ति गर्दा प्रतिलिटर पाँच रुपैयाँका दरले १० लाख रुपैयाँ ढुवानी खर्च लाग्दै आएको छ। 

 यसअघि भने रक्सौलबाट आपूर्ति गर्दा २० लाख लिटरलाई दुई रुपैयाँका दरले चार लाख रुपैयाँ खर्च हुँदै आएको थियो। एक ट्यांकरमा २० हजार लिटर इन्धन हुन्छ।वरालले भने, 'स्वचालित मूल्य प्रणाली लागेपछि निगम नाफामा गएकाले अतिरिक्त ढुवानी खर्च भए पनि हामीलाई घाटा भएको छैन।

 थप व्ययभार बेहोरेर पनि हामी अझै एकडेढ महिनासम्म आपूर्ति गर्न सक्षम छौं।' अतिरिक्त व्ययभार वहन गरेर पनि आमउपभोक्तालाई केही सीमित मात्रामा भए पनि निगमले इन्धन उपलब्ध गराउँदै आएको छ। निगमका अनुसार अतिरिक्त ढुवानी खर्च ६ लाख रुपैयाँबाट आईओसीको मूल्यअनुसार १३ हजार ९१ लिटर पेट्रोल वा १३ हजार सात सय २९ लिटर डिजेल खरिद गर्न पुग्थ्यो।

आईओसीले निगमलाई अन्य खर्चबाहेक प्रतिलिटर पेट्रोल ४५ रुपैयाँ ८३ पैसा र डिजेल ४३ रुपैयाँ ७० पैसामा उपलब्ध गराउँदै आएको छ। आईओसीले बुधबार फेरि माथिको आदेश भन्दै पर्याप्त इन्धन दिन मानेको छैन। भारतका विभिन्न ६ स्थानका डिपोमा बुधबार पुगेका एक सय २६ ट्यांकरमध्ये २८ वटामा मात्रै आईओसीले इन्धन लोड गरेको छ। 

 मंगलबार डिपोमा पुगेका ट्यांकरमध्ये ७० प्रतिशतमा लोड गरेको आईओसीले बुधबार करिब २५ प्रतिशतमा मात्रै इन्धन लोड गरिदिएको छ । मंगलबार एक सय ५० मध्ये एक सय एक ट्यांकरमा इन्धन लोड गरिएको थियो।गत शनिबार आईओसीले आवश्यक परिमाणमा इन्धन उपलब्ध गराउने आश्वासन दिए पनि व्यवहारमा भने अझै थोरै परिमाणमा उपलब्ध गराएको निगमले जनाएको छ।

 'जहाजबाट सम्भव छैन इन्धन'

निगमले जहाजबाट इन्धन ल्याउने भन्‍ने हल्ला निराधार भएको जनाएको छ। निगम स्रोतका अनुसार जहाजबाट ल्याउँदा झन्डै प्रतिलिटर दुई सयदेखि तीन सय रुपैयाँ लाग्ने भएकाले त्यसबारे आधिकारिक रूपमा वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमले कुनै छलफल र निर्णय गरेको छैन।

 निगमले बंगलादेशबाट जहाजमार्फत ल्याउँदा प्रतिलिटर दुई सय रुपैयाँ ढुवानी खर्चका दरले एक लाख लिटरलाई दुई करोड रुपैयाँ ढुवानी खर्च लाग्ने जनाएको छ। यसैगरी कोलकाताबाट जहाजमार्फत ल्याउँदा प्रतिलिटर एक सय ५० रुपैयाँ ढुवानी खर्च लाग्छ। 'यो निक्कै महँगो र घाटाको व्यापार हुन्छ', निगमका एक अधिकारीले भने, ‘यस्तो घाटाको व्यापार कल्पना पनि गर्न सकिँदैन।'