Live Streaming

​आयात सहज बन्दै

काटमाडौं,२७ असोज । भारतले गरेको नाकाबन्दीका कारण २० दिनयता ठप्प रहेका सिमा नाकाहरुबाट आयात सहज बन्दै गएको छ । हिजो साँझ पूर्वी नाका काकरभिट्टाबाट ११ ट्याङकर तेल र ४ ओठा ग्याँस बुलेट नेपाल भित्रिएका छन् । पूर्वी नाकाको ईन्धन लोड गर्ने भारतीय डिलरमा समेत नेपाली ट्याङकरहरु धमाधम लोड भइहेको  सहकर्मी उमाकान्त खनालले जनाएका छन् । उता मोरङको रानी भन्सार कार्यालयबाट गएराती ८८ सवारी साधन नेपाल भित्रिएका छन् । ती मध्ये २३ बटा इन्धन बोकेका सवारी रहेका छन्  । 

उता देशकै सबैभन्दा ठूलो नाका वीरगञ्ज र सुनौलीलगायतका नाकाहरुबाट पनि अहिले सहज रुपमा आवागमन भइरहेको सहकर्मीहरु दिवाकर भण्डारी र कृष्णप्रसाद ढकालले जनाएका छन् । आज पनि भातीय आयल कर्पोरेसनको डिपोमा नेपाली ट्याङकरहरु धमाधम लोड भइरहेको र केही दिनमै पेट्रोलियम पदार्थको सहज आपुर्ति हुने आयल निगमले जनाएको छ । ईन्धनको सामान्य रुपमा नेपाल त्रित्रिएसंँंगै देशैभर केही सहजता महसुस भएको छ । 

यसैबीच उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमन समस्या समाधान गर्न कूटनीतिक प्रयास थालिएको बताउनुभएको छ । सञ्चारकर्मीमाझ कुरा गर्दै उहाँले आपूर्ति सहज पार्ने काम नै सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । अस्ती बसेको मन्त्रीपरिषदको पहिलो बैठकले आपूर्ती व्यवस्था सहज बनाउनका लागि परराष्ट्रमन्त्री थापाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

यस्तै नेपाल आयल निगमले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लिखित अनुरोध गरेको छ । इन्धन आपूर्ति गर्ने वातावरण मिलाइदिन वाणिज्य मन्त्रालयलाई शुक्रबारै पत्राचार गरेको आयल निगम श्रोतले जनाएको छ ।