Live Streaming

​सभामुख नेम्वाङले आज राजिनामा दिने

काठमाडौं,२७ असोज । व्यवस्थापिका–संसद्मा आजदेखि नयाँ सभामुख चयन प्रकृया सुरु हुँदैछ । अपरान्ह तीन बजे बस्ने बैठक अगाबै सभामुख सुवास नेम्वाङले पदबाट राजिनामा दिई नयाँ सभामुख चयनको प्रकृयाको लागि मार्ग प्रसस्त गर्नुहुने सम्भावना छ । नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९९ को उपधारा (१) मा ‘व्यवस्थापिका संसद्को अधिवेशन आह्वान भएको मितिले २० दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । 

यस्तै आजै सभामुख निर्वाचनको कार्यतालिका बारे सूचना दिने कार्यतालिका रहेको छ । आजै सभामुखले राजिनामा दिने या नदिने भन्ने बारेमा भने आन्तरिक छलफल भइरहेकोले टुंगो लागि नसकेको सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले बताउनुभयो । सभामुखले राजिनामा दिए उपसभामुख समक्ष दिनुपर्ने प्रावधान छ । यसैगरी उपसभामुखले भने नयाँ सभामुख समक्ष राजीनामा दिएपछि नयाँ उपसभामुख चयन प्रकृया सुरु हुनेछ । प्रक्रिया सुरु भएको दुई दिनभित्रै अर्थात शुक्रबारसम्म संसदको नयाँ नेतृत्व चयन गर्ने गरी तयारी गरिएको सचिवालयले जनाएको छ । 
नयाँ सभामुख एमाओवादीको भागमा परेको छ भने उपसभामुख राप्रपा नेपाललाई दिने सत्तारुढ गठबन्धनबीच भद्र सहमति भएको सत्तारुढ दलहरुले बताउँदै आएका छन । एमाओवादीको सभामुखमा कृष्णबहादुर महरा वा गिरिराजमणि पोखरेल मध्ये एकलाई पठाउने तयारी गरेको श्रोतले जनाएके छ ।

तर महराले सरकारमा उपप्रधान र गृह पाउनुपर्ने दावी गरिरहेका कारण सभामुख पद नलिने बताउँदै आएका छन । यस्तै आजको बैठकमा केही दिन अघि निधन भएका पूर्व सांसद चन्द्रबहादुर गुरुङको शोक प्रस्ताव पनि पारित गरिने संसद सचिवालयका सहप्रवक्ता  कुईंकेलले जानकारी दिनुभयो ।