Live Streaming

​नाकाहरुमा चहलपहल बढ्यो

काठमाडौं,२६ असोज । भारतले गरेको अघोषित नाकाबन्दी कारण ठप्पप्राय बनेका अधिकांश सिमानाकाहरुमा आजदेखि चहलपहल बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै हिजो देखि नै अधिकांश नाकाहरुमा मालबाहक सवारी आवागमनमा सहजता देखिएको हो । करीब २० दिन देखि ठप्प रहेका मुलुकका विभिन्न नाकाबाट लोड गरिएका ट्याङकर नेपाल भित्रिने र खाली ट्याङ्कर जाने प्रक्रिया आइतबार अपरान्हदेखि नै सुरु भएपछि हिजोदेखि खुकुलो बनेको छ ।

हिजो नेपागञ्जको रुपैडिया नाकाबाट १६ ट्याङ्कर इन्धनसँगै अन्य मालबाहक सवारीसाधन सहज रुपमा नेपाल भित्रिएका छन् भने आज बिहानैदेखि चहलपहल सुरु भएको सहकर्मी सुरेन्द्र काफलले जनाएका छन् । भारतको गोण्डा डिपोमा ४ सय ६४ किलोलिटर इन्धन लोड भैसकेको बताइएको छ । उता धनगढीको गौरिफण्टा नाका हुँदै गएका २० ट्याङ्करमा ३ लाख ६४ हजार लिटर डिजेल र २ ट्याङ्कर पेट्रोल लोड गरिएको र सो इन्धन आज नेपाल भित्रिने आयल निगम धनगढी शाखालाई उदृत गर्दै सहकर्मी शिवराज भट्टले जनाएका छन् ।

पुर्वी नाका कारभिट्टामा पनि हिजोदेखि निर्वाध रुपमा इन्धनका ट्याङ्कर भित्रिरहेको सहकर्मी उमाकान्त खनालले जनाएका छन् । यसैगरी केहि दिनदेखि इन्धन आउन नसकेको बिराटनगरको जोगवनी नाका पनि हिजोदेखि सुचारु भएको छ । यस्तै एक सातादेखि ठप्प रहेको भैरहवाको सुनौली बेलहिया नाका पनि  हिजो साँझदेखि सुचारु भएको छ । सो नाकामा आज पनि बिहानैदेखि चहलपहल सूरु भएको सहकर्मी कृष्ण प्रसाद ढकालले जनाएका छन् ।  सबै नाकाहरुबाट इन्धन सहज रुपमा आएमा एक दुई दिनमै सहज रुपमा बितरण गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।