मधेसी मोर्चाले पत्रकार सम्मेलन गर्दै
काठमाडौं,२६ असोज । सरकारले बार्तामा आउन आग्रह गरेपछि मधेसी मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले तराई मधेशमा आन्दोलनरत मधेश केन्द्रित दलहरुलाई वार्तामा आउन हिजो आव्हान गरेको हो । यस्तै मधेशी मोर्चा प्रधानमन्त्री निर्वाचनमा सहभागी भएपछि मोर्चामा उत्पन्न विवादको बारेमा पनि धारणा सार्वजनिक गर्दैछ ।
संविधान निर्माणको प्रक्रिया बहिष्कार गर्दै हिँडेका यी मधेसकेन्द्रित दलले असोज ३ गते संविधान जारी भएलगत्तैसंविधान जलाएका थिए । आफूले जलाएको संविधान संशोधनसमेत हुन नपाई, ४५ को ज्यान गइसक्दा आन्दोलन टुंगिन नपाई नेता र सांसदहरू सत्ताको बाँडफाँडमा सामेल भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णयप्रति थुप्रै नेता–कार्यकर्ता आक्रोशित छन् ।
संविधान निर्माणको आखिरी घडीमा प्रक्रिया बहिष्कार गरेको मोर्चा आइतबारको प्रधानमन्त्री चुनावमा भने सहभागी भएको थियो । यस्तै चाडबाड शुरु भइसकेकाले तराइमा जारी आन्दोलनको स्वरुप केही फेर्ने तयारी गरेको मोर्चाले आज आधिकारिक धारणा सार्वजनिक गर्ने मोर्चामा आवद्ध नेता लालबाबु राउतले जानकारी दिनुभयो ।