Live Streaming

घरघरमा बडादसैंको घटस्थापना

काठमाडौं,२६ असोज । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । यस बर्षको बडादशैँको पहिलो दिन आज घटस्थापना, आ–आफ्ना घरको पूजाकोठा तथा दशैं घरमा विधिपूर्वक घटस्थापन गरी जमरा राखिदैछ । आजदेखि कोजाग्रत पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ दशैं मनाइन्छ । घटस्थापनाको साइत आज बिहान ११ ः२५ बजे उपयुक्त रहेको नेपाल पञ्चाङ्ग निणार्यक समितिले जनाएको छ ।

बैदिक विधिपुर्वक नजिकको तीर्थ वा सफा ठाउँंबाट ल्याएको माटोमा पञ्च धातु र पञ्च पल्लव राखी जौँ र मकै छरेर जमरा राख्ने चलन छ । विजया दशमीका दिन आफ्ना मान्यजनबाट विजयको प्रतीक रातो टीका र समृद्धिको प्रतीक पहेंलो जमरा लगाउने गरिन्छ । असत्यमाथि सत्य र आशूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यो पर्वको नवरात्री भर विभिन्न शक्तिपीठमा बलि दिइनुका साथै दशैँ घरमा प्रत्येक दिन दुर्गा सप्तशती र भगवतीका स्तोत्र पाठ गरिन्छ ।