आईओसीले तेल लिन बोलायो
काठमाडौं,२५ असोज । इन्डियन आयल कर्पोरेसनले मागेजति तेल दिने भन्दै दोस्रो पटक पत्र पठाएपछि आजदेखि केहि नाकाहरुमा सहज हुने भएको छ । करीब १५ दिन देखि ठप्प रहेका मुलुकका विभिन्न नाकाबाट लोड गरिएका ट्याङकर नेपाल भित्रिने र खाली ट्याङ्कर जाने प्रक्रिया हिजो अपरान्हदेखि नै सुरु भएको छ । भारतले गरेको नाकाबन्दीपछि हिजो सबैभन्दा बढी इन्धन नेपाल भित्रिएको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि दिनमा १० प्रतिशतको हाराहारीमा मात्रै इन्धन दिँदै आएको आइओसीले हिजो गोण्डा डिपोबाट २५ ट्याङ्कर र सिलिगुडी डिपोबाट १७ ट्याङ्कर इन्धन लोड गरेको निगमले जनाएको छ । यसैगरी हिजोदेखि खाली ट्याङ्कर भारततर्फ जाने क्रम पनि बढेको छ । हिजो धनगढीको गौरीफन्टाबाट ३३ ट्याङ्कर भारततर्फ गएका छन् भने नेपालगञ्जको रुपैडियाबाट २५ वटा ट्याङकर गएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
यसअघि हिजो नेपालगञ्जको रुपैडिया नाकाबाट ४२ ट्याङ्कर इन्धन नेपाल भित्रिएको थियो । आज पनि सो नाकामा बिहानैबाट चहलपहल सुरु भएकाले इन्धन भित्रिने सम्भावना रहेको सहकर्मी सुरेन्द्र काफ्लेले जनाएका छन् । यद्यपि तराई बन्दलाई कारण देखाउँदै भारतले गरिररहेको नाकाबन्दीमा ठप्प रहेका मुलुकका प्रमुख नाकाहरुमा भने आन्दोलन जारी रहेका कारण कुनै पनि मालवाहक सवारीसाधन भित्रिन सकेको छैन । तर नयाँ सरकार गठन भएपछि आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारीमा रहेका आन्दोलनरत पक्षले आजदेखि नाका अवरोध नगर्ने सम्भावना रहेको बताइएको छ । जसका कारण एक दुर्य दिन इन्धनमा केहि सहजता आउने निगमको अनुमान छ ।