१६ बुँदे गर्दा कसैलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैन : सुशील
अन्नपूर्ण
काठमाडौं,२४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले मुख्य राजनीतिक दलहरुबीच १६ बुँदे सहमति हुँदा कसैलाई प्रधानमन्त्री बनाउने सहमति नभएको दाबी गरेका छन् । संसद्मा आइतबार प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले यस्तो दाबी गरेका हुन् । उनले भने, त्यस्तो कुनै सहमति भएको छैन। हुँदै नभएको कुरा भएको छ भनेर गुमाराहमा राख्न पाइदैन ।
उनले तराई मधेसको समस्यालाई समाधान गर्न अन्तिम क्षणसम्म प्रयास गरेको र राष्ट्रसंघीय महासभामा जाने कार्यक्रम स्थगित गरेर वार्तामा सक्रिय भएको बताए । उनले मधेसको मुद्दाप्रति संवेदनशिल हुनुपर्ने बताउँदै भने, यसमा हामी केही लचिलो भएर समाधान खोज्नुपर्छ ।
कोइरालाले भने, उम्मेदवारी दिदैमा विरोधको अर्थ लगाउनु हुँदैन । प्रजातन्त्रमा यो स्वभाविक प्रक्रिया हो र प्रतिस्पर्धा हुनुपर्छ । सत्ताका लागि म भोखो छैन । मैलै सत्ताको लोभले गर्दा उम्मेदवारी दिएको होइन ।उनले आफूले हारे पनि ओलीलाई सघाउने र जिते पनि ओलीको साथ लिने बताए । उनले भने, अब राजनीतिक विवाद छोडेर विकास र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ ।