कोइराला भर्सेस ओली
काठमाडौं,२४असोज । संसद्को तेस्रो ठूलो दल एकीकृत माओवादी र चौथो दल राप्रपा नेपालसहित अन्य एक दर्जन बढी दलको समर्थन प्राप्त एमाले अध्यक्ष केपी ओली अब कुनै दलले आफ्नो समर्थन नफेरे मुलुकको नयाँं प्रधानमन्त्री बन्ने निश्चित प्राय छ । प्रधानमन्त्री निर्वाचित हुन व्यबस्थापिका संसदमा हाल कायम सदस्य संख्याको बहुमत अर्थात २ सय ९९ मत आवश्यक पर्छ । ओलीको पक्षमा ३ सय २३ सांसद्ले मत दिने प्रतिवद्धता जनाएको एमाले नेताहरुले बताएका छन् ।
राप्रपाका १२ जना सांसद्ले हिजै हस्ताक्षरसहितको समर्थनपत्र एमालेलाई बुझाएको महामन्त्री विक्रम पाण्डेले बताउनुभयो । त्यसैगरी, नेकपा मालेका ५, राष्ट्रिय जनमोर्चाका ३, परिवार दलका २ राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका २ सांसद् पनि ओलीका पक्षमा छन् । एमाले नेताहरुका अनुसार, १÷१ सांसद् रहेका बहुजन शक्ति पार्टी, समाजवादी जनता पार्टी, नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी र दलित जनजाती पार्टी नेपालले पनि ओलीलाई मत दिने प्रतिवद्धता जनाएका छन् ।
ओलीको उम्मेदवारीको प्रस्तावक रहेको एकीकृत माओवादीका केही सांसदले भने पार्टी निर्णय विपरित फ्लोर क्रस गर्ने आशंका पार्टी नेतृत्वले गरेको छ । हालै एकीकृत माओवादी परित्याग गरेका बाबुराम भट्टराई निकट ३० जना नेताहरुले हिजो वक्तव्य जारी गरी देश गम्भिर अवस्थामा रहेका बेला सकेसम्म सबै पक्षलाई मिलाएर लैजानुपर्नेमा पार्टी नेतृत्वले ओलीको नेतृत्वमा समर्थन जनाएको भन्दै विरोध गरेपछि त्यस्तो आशंकामा बल पुगेको छ । आज बिहान रेडियो अन्नपूर्ण नेपालसंग कुरा गर्दै हिजो वक्तव्य जारी गर्नेमध्येका एक नेता देवेन्द्र पौडेलले केही सांसदहरु पार्टी निर्णय विपरित जाने सम्भावना रहेको बताउनुभयो । यद्यपी उहांँंले कति संख्यामा सांसदहरु पार्टी निर्णय विपरित जाने भन्ने संख्या चाहिं बताउनुभएन । भट्टराई निकट नेताहरु अहिले पनि गोप्य छलफलमा छन् ।
यता, आफ्नै पार्टीका बरिष्ठ नेता शेरवहादुर देउवाको प्रस्ताव र उपसभापति रामचन्द्र पौडेलको समर्थनमा उम्मेदवार बनेका कांग्रेस सभापति सुशील कोइरालाले मधेस केन्द्रित दलहरुको समर्थन पाउने आशा गर्नुभएको छ । दुइ वटा मधेशी मोर्चासंग ५३ सांसद छन् । कंग्रेसको आफ्नै भने २ सय ७ मत छ । विगतको उदाहरण जस्तै अन्य दल फुटेर कोइरालाको पक्षमा मतदान गर्ने सम्भावना अहिलेसम्म न्यून देखिएको छ । यद्यपी कोइरालाले ओलीलाई समर्थन जनाएका साना दलका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयास जारी राख्नुभएको छ । २ सांसद् रहेको परिवार दलका अध्यक्ष एकनाथ ढकालसंग कोइरालाले अहिले वालुवाटारमा वार्ता गरिरहनुभएको स्रोतले बताएको छ ।