Live Streaming

पेट्रोल जोहो गर्दा परिवारका तीन गुमे

सुवास गोतामे

काठमाडौं,२४ असोज। बिरामी आमालाई भेट्न गृहजिल्ला रामेछाप लखनपुर जाने योजनामा रहेका लेखराज श्रेष्ठ आफैं बिदा भए। गाउँबाट आमा बिरामी परेको सूचना पाएसँगै उनले शुक्रबार बिहान ऋण खोजेर १० लिटर पेट्रोल कोठामा ल्याएर राखेका थिए। दिउँसो ट्याक्सीमा पेट्रोल हाल्दा अरूले माग्ने भएपछि रातिमात्रै हाल्ने योजना बनाएका थिए उनले।

 शुक्रबार राति साढे सात बजे जर्किनमा राखेको पेट्रोल बोतलमा सार्न लाग्दा बिजुली गएपछि उनले मैनबत्ती बालेर बोतलमा पेट्रोल सार्ने तयारी गरे । तर मैनबत्ती सल्काउँदा अकस्मात् आगलागी भयो। 

 आगलागीबाट श्रेष्ठ त बाँचेनन् नै उनकी पत्नी गंगामाया र आठ वर्षीया छोरी जेनिसाले पनि अस्पतालमा उपचारका क्रममा प्राण त्यागे । श्रेष्ठ ६ दाजुभाइमध्येका कान्छा हुन्। पशुपति आर्यघाटमा भाइ लेखराजसँगै बुहारी गंगामाया र भतिजी जेनिसालाई दागबत्ती दिएका माइला दाजु तिलकबहादुरले भने, 'गाउँमा आमा बिरामी हुनुहुन्छ भनेर खबर आएपछि भाइ शनिबार बिहान जाने तयारीमा थियो, शुक्रबार राति नै यस्तो दुःखद् घटना भयो। ऊ त गयो-गयो परिवारलाई पनि सँगै लिएर गयो।

 लेखराजका आठ महिनाका कान्छा छोरा प्रिन्स भने कान्ति बाल अस्पतालमा जीवनमरणको दोसाँधमा उपचाररत छन्। ६ वर्षदेखि काठमाडौंमा बस्दै आएका लेखराज विगत डेढ वर्षदेखि ट्याक्सी चलाएर परिवारको गुजारा गर्दै आएका थिए।

लेखराजका आठ महिनाका कान्छा छोरा प्रिन्स भने कान्ति बाल अस्पतालमा उपचाररत छन्। 

आगलागीको सूचना पाउनेबित्तिकै उद्धार गर्न पुगेका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी दानबहादुर कार्कीले भने, 'एउटै कोठामा चारजनाको परिवार बसेको रहेछ। भान्सा र सुत्ने कोठा एउटै ठाउँमा भएकाले पनि कोठामा राखिएको पेट्रोलियम पदार्थ धेरै जोखिमपूर्ण थियो। 

 होसियारी नअपनाउँदा लेखराजको परिवारले त्यस्तो नियति भोग्नुपर्‍यो।' प्रहरीलाई समयमै खबर भए पनि पेट्रोलियम पदार्थले सल्केको आगोले थोरै समयमा पनि धेरै क्षति पुर्‍याएको कार्कीले बताए।प्रहरीले उद्धारका क्रममा ढोका खोल्न नसकेपछि झ्याल फोडेर आगो निभाउने प्रयास गरेको थियो। 

 उपचारका लागि लेखराजलाई मीनभवनस्थित सिभिल अस्पताल, गंगामायालाई कीर्तिपुरस्थित मोडल अस्पताल, जेनिसालाई महाराजगन्जस्थित इसान हस्पिटल र प्रिन्सलाई कान्ति बाल अस्पताल पुर्‍याइएको थियो। लेखराजको शुक्रबार राति, जेनिसा र गंगामायाको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जानकारी कार्कीले दिए।

 'उद्धार गरेर लैजाँदै घाइतेको अवस्था गम्भीर थियो, आगोको लप्काले कसैको पनि बाहिरी छाला सद्दे थिएन,' डीएसपी कार्कीले भने। सर्वसाधारणले घरमा पेट्रोलियम पदार्थ स्टोर नै गर्न परे पनि टर्च लाइटबाहेक अन्य प्रकाश दिने वस्तु प्रयोग नगरी सावधानी अपनाउनुपर्ने कार्कीले बताए।