Live Streaming

​इन्धन आयातका लागि ग्लोबल टेण्डर आह्वान

काठमाडौं,२१ असोज । नेपाल सरकारले इन्धन आयातका लागि ग्लोबल टेन्डर आव्हान गरेको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी) को पेट्रोलियम पदार्थ निर्यात एकाधिकार तोड्दै सरकारले वैकल्पिक व्यवस्था गर्न ग्लोबल टेण्डरको लागि सूचना प्रकाशित गरेको हो । निगमले तीन दिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ ।

हालको परिस्थिति सहज नभएसम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यास जुनसुकै देशबाट र जुनसुकै मार्गबाट ल्याएर आपूर्ति व्यवस्थालाई सहज बनाउन मन्त्रिपरिषद्ले निगमलाई जिम्मा दिएको छ ।

१५ दिनको लागि प्रतिदिन डिजेल करिब २०० किलोलिटर, पेट्रोल करिब १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल करिब २०० किलोलिटर र एलपी ग्यास करिब १०० मेट्रिक टन ल्याउन निगमले टेण्डर जारी गरेको हो । निगमका प्रबक्ता दीपक बरालले तत्कालको लागि पेट्रोलियम पदार्थ वितरण सहज बनाउन ग्लोबल टेण्डर आह्वान गरिएको जानकारी दिनुभयो ।  भारतले दुई हप्ताभन्दा अघिदेखि पेट्रोलियम पदार्थ आपूर्ति ठप्प पारेपछि सरकारले विकल्प खोजेको हो ।