हवाई मार्गबाट इन्धन भित्र्याउने आयल निगमको तयारी
काठमाडौं,२१ असोज । भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको चरम संटक भएपछि सरकारले तत्कालिन र दीर्घकालिन आपूर्तिको विकल्प खोज्न जिम्मेवारी दिएको आयल निगमले आज आफ्ना योजना सरकारालाई पेश गर्ने तयारी गरेको छ ।
दसंैजस्तो ठूलो चाड नजिकिएकाले तत्कालका लागि हवाईजहाजमा इन्धन ल्याएर वितरण गर्ने र दीर्घकालमा भारतसंगमात्र निर्भर नरही उत्तरी छिमेकी चीनबाट इन्धन ल्याउने योजना आयल निगमले बनाएको बताइएको छ । भारतका राजदुत रणजीत रायले भारतबाटै हवाई मार्गबाट इन्धन ल्याउन सुझाव दिएपछि सरकारको सुझावमा निगमले त्यसबारे समेत अध्ययन गरिरहेको छ ।
निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले भारत, बंगलादेश, सिंगापुर, युएइ लगायत विभिन्न मुलुकका कम्पनीहरुसँंंग प्रस्ताव आह्वान गरी हवाईजहाजबाट इन्धन ल्याउनेबारे छलफल भइरहेको बताउनुभयो ।
भारतबाट ल्याउनुपरे सरकारी इण्डियन ओयल कर्पोरेशनबाट नभइ ठूला निजी ब्यापारीसंग खरिद गर्नेगरी प्रस्ताव आ्हवा गर्ने निगमले तयारी गरेको छ ।
नेपालमा संविधानसभाले बनाएको संविधानप्रति अप्रत्यक्ष रुपमा असन्तुष्टी जनाउदै भारतले सिमानाकाहरुमा अघोषित नाकाबन्दी गरेका कारण काठमाडांै उपत्यकासहित धेरै भूभागमा इन्धनको चर्को अभाव भएको छ ।
भारतीय तेल निगम आइओसीले नेपाललाई नियमित दिने इन्धनको १० प्रतिशत भन्दा कम इन्धन दिइरहेको छ भने नाकामा जारी अवरोधका कारण दिएको इन्धन बोकेका ट्यांकर पनि सहज रुपमा भित्रिन सकेका छैनन् । इन्धनको मौज्दात निकै कम भएपछि आयल निगमले निजी सवारी साधनलाई झण्डै एक सातायता इन्धन दिएको छैन भने अत्यावश्यक सेवा, विद्यालय र लामो दुरीमा चल्ने सवारी साधनलाई कोटा तोकेर सिमित मात्रामा डिजल पेट्रोल वितरण गरीरहेको छ ।