विभिन्न नाकाबाट ७० ओटा गाडी भित्रिए
काठमाडौं,२० असोज । भारतले गरेको अघोषित नाकाबन्दीका बाबजुत पनि विभिन्न नाकाबाट करिब ७० ओटा ईन्धन बोकेका ट्याङकर नेपाल भित्रिएका छन् । नाकाबन्दीको १३ औं दिन विराटनगरको रानी भन्सार नाकाबाट गएराती २९ वटा इन्धन बोकेका गाडी नेपाल प्रवेश गरेका छन् । जसमा १४ वटा पेट्रोल बोकेका ट्याङ्कर, ११ वटा डिजलका ट्याङ्कर र चार वटा ग्याँंस बुलेटका गाडी रहेको सहकर्मी कुमार लुइटेलले जनाएका छन् । बिराटनगर नाकाबाट अझै ७१ वटा पेट्रोलियम पदार्थ बोकेको गाडी नेपाल प्रवेश गर्ने लाइनमा छन् ।
त्यस्तै पूर्वी नाका काकरभिट्टाबाट गएरातीसम्म ३४ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । जसमा २२ वटा डिजेल, ११ वटा पेट्रोल र एउटा मट्टीतेल बोकेका ट्यांकर रहेको मेची भन्सार कार्यालयका सूचना अधिकृत दिपेन्द्र झा लाई उद्धृत गर्दै सहकर्मी उमाकान्त खनालले जनाएका छन् । ती मध्ये १७ वटा ट्याङकर काठमाडौं पठाइएको झाले बताउनुभयो । उता बाँकेको रुपैडिहा–जमुनाहा नाकाबाट मालबाहक ट्रकहरु नेपाल भित्रने क्रम जारी रहेको सहकर्मी सुरेन्द्र काफ्लेले जनाएका छन् । कैलालीको गौरीफन्टा नाकाबाट भने मालबाहक गाडीहरु मात्र नेपाल भित्रिइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।
सो नाकाबाट गएराती चार वटा इन्धन बोकेका ट्याङकर नेपाल भित्रिएका थिए । यसैबीच इन्धन आपूर्ति रोकेको बारे कारण बुझ्न नेपाल आयल निगमले आफ्ना उच्च तहका कर्मचारीलाई भारतीय आयल कर्पोरेशन आईओसीका विभिन्न शाखा कार्यालयमा पठाउने भएको छ । नेपाल आयल निगमले इन्धन भर्ने आइओसीका सिलिगुडी, बेतालपुर, मथुरा, बरौनी र हल्दियाका कार्यालयमा निगमका निर्देशक पठाउने तयारी गरेको हो ।