भद्र सहमतिअनुसारै सरकार गठन हुन्छ : खनाल
काठमाडौं,१९ असोज । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रमुख तीन दलबीच विगतमा भएको भद्र सहमति अनुसारनै नयाँ सरकार गठन हुने दावी गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित विहानी कार्यक्रम अन्नपूर्ण फ्रन्टलाइनमा कुरा गर्दै उहाँले असोज २४ भित्र कँग्रेस र एमाओबादी लगायतका दलहरुको समर्थनबाट पार्टि अध्यक्ष केपी ओलीकै नेतृत्वका नयाँ सरकार गठन हुने बताउनुभयो ।
कँग्रेसले त भद्र सहमति थाहा नभएको भन्दै एमाले नेतृत्वको सरकार नस्वीकार्ने बताइरहेको छ नी भन्ने प्रश्नमा उहाँले कसैलाई प्रधानमन्त्री बन्ने चाहना हुनु स्वभाविक भएपनि कँग्रेस नेतृत्व विगतको सहमतिबाट पछि नहट्ने विश्वास ब्यक्त गर्नुभयो । संविधान कार्यान्वयन, कानुन निर्माण, नाकाबन्दीको समस्या समाधान,स्थानीय निर्वाचन, भुकम्पपिछको पुर्ननिर्माणमा एक भएर लाग्नको लागिपनि अहिले तीन दल सहितको संयुक्त सरकार बन्नुपर्ने खनालको धारणा थियो ।
भारतले गरेको अघोषित नाकाबन्दी नेपाल माथी युद्ध थोपरेको भन्दै नेता खनालले नेपाली जनताले धैयपूर्वक संयमित भएर परिस्थितीको सामना गर्नुको विकल्प नभएको बताउनुभयो । नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राष्ट्रसंघका महासभा सहभागी भएका प्रतिनिधिले नेपालमाथी भारतले गरेको अन्यायको आवाज दमदार रुपमा उठाउन नसकेको बताउनुभयो ।
भारतमाथी परनिर्भरता बढेकाले आत्मनिर्भर भएर अब चिन लगायत अन्य मुलुकसँग पनि इन्धनका साथै अन्य अत्याबश्यक सामान आयातको सम्झौता अघि बढाउने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले अब पनि भारतको मात्र भर पर्नु भनेको आत्महत्या गरे सरह हुने भएकाले दोश्रो विकल्पको बारेमा नेपाल तयार हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालको आन्तरीक मामला नेपाल भित्रकै राजनीतिक नेतृत्वले समाधान गर्न सक्ने बताउँदै उहाँले मधेस केन्द्रित दलका जायज माग सम्बोधन गरिने बताउनुभयो । तर मधेस केन्द्रित दलका केहि नेता भारतीय एजेण्ट बनेर नेपाली जनता जनताबीच फाटो ल्याउन उद्दत रहेकाले उनिहरुका सम्पूर्ण माग पुरा हुन नसक्ने जिकिर गर्नुभयो ।