Live Streaming

नाकाबन्दीबारे तीन दलको आपत्ती

काठमाडौं,१८ असोज । प्रमुख तीन दलले भारतले लगाएको अघोषित नाकाबन्दी बारे प्रधानमन्त्री स्तरमै छलफल गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीको बैठकले तत्काल समस्या समाधानका लागि उच्चस्तरमा कुरा गर्ने निर्णय गरेको हो । नेपालको आन्तरिक मामिलाई लिएर नाकाबन्दी गर्नु र पछि हटाएको भने पनि त्यस्तो नदेखिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

शनिबार साँझ सीमा नाकाहरुमा आवागमन सहज बनाउन निर्देशन दिएको भन्दै भारतले तेल लिन आउन समेत खबर पठाएको थियो । तर, त्यसविपरीत अहिले पनि सीमामा अवरोध जारी छ भने इन्धन पनि दिएको छैन ।त्यसैगरी बैठकमा सहमतीय सरकार गठनका विषयमा पनि सामान्य छलफल भएको थियो । सहमतीय सरकार गठनका विषयमा थप छलफल गरिने नेताहरुले बताएका छन् ।

बैठकपछि कँग्रेसका एक नेताले बाहिर चर्चामा आएजस्तो कँग्रेस र एमाले सम्बन्धमा कुनै चिसोपना नआएको दावी गरेका छन् । सरकारको नेतृत्वका बारे थप छलफल गर्दै जाने र सहमति भए जसको नेतृत्व स्वीकार्न पनि कँग्रेस तयार रहेको उनीहरुको भनाइ छ । यस्तै बैठकमा आन्दोलनरत मधेसी दलसँग अहिलेसम्म भएका वार्ताका विषयमा पनि छलफल भएको थियो । बैठकमा तीन दलीय वार्ता टोलीका सदस्यहरुले मधेसी दलले राखेका मागका बारेमा शीर्ष नेतृत्वलाई जानकारी दिँदै थप वार्ताका लागि अग्रसरता लिन आग्रह गरेका छन् ।