एक महिनाभित्र नयाँ शक्ति :डा. बाबुराम
हरि शर्मा
परासी,१८ अुसोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक महिनाभित्र नेपालमा नयाँ शक्तिको घोषणा हुने बताएका छ्न ।नयाँ शक्ति निर्माणका लागि आफुले केन्द्रदेखि जिल्लाका विभिन्न पार्टीका नेताहरु, उद्योगी, व्यवसायी र नयाँ सोच तथा विचार बोकेका व्यक्तिहरुसँगको भेटलाई तीव्रता दिएको भट्टराईले बताएका छन् ।पार्टीमा राजीनामा दिएपछि आफ्ना समर्थकहरुलाई भेट्ने क्रममा पूर्वबाट पश्चिम दौडाहामा निस्केका भट्टराईले सोमबार नवलपरासीको सुनवलमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा नयाँ शक्ति निर्माणको नेतृत्व आफुले नलिने स्पष्ट पारे ।
‘अहिले हामीले विभिन्न जिल्लामा अभियान र विचारको बहस चलाएका छौं,’ भट्टराईले भने, ‘सबैको अवधारणा आएपछि त्यसलाई एकीकृत गरेर आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखी राष्ट्रिय संकल्पसहित एक महिनाभित्र नयाँ शक्ति घोषणा गर्छौँ ।’नेपालले भारतलाई धेरै चिढाउन नहुने भन्दै भट्टराईले दुई देशको तरुलको रुपमा रहेको हाम्रो देशले अब भारत र चीनलाई जोड्नका लागि सेतु पुलको काम गर्नुपर्नेमा जोड दिए ।
पत्रकार भेटघाट भट्टराईले एमाओवादीका जिल्लास्तरिय नेता र सुनवल नगरपालिका क्षेत्रमा रहेका नगर र वडास्तरका इन्चार्जलाई भेटघाट गरेका थिए ।‘हाम्रो पार्टीसँग आवद्ध साथीहरु’ भनेर उनीहरुलाई सम्बोधन गर्न खोजेका भट्टराईले आफ्नो अभिव्यक्ति सच्चाउँदै भने, ‘अझ पनि मलाई पार्टीको माया छ, त्यसैले हाम्रो पार्टी नै भन्न रुचाउँछु ।’
पार्टीमा भएका विकृति र विसंगतिबारे दैनिक रुपमा प्रचण्डसँग टेलिफोनमा कुराकानी हुने गरेको बताउँदै भट्टराईले सो क्रममा आफू अब नयाँ विचार लिएर अघि बढेको भन्दै पुरानो घरमा नफर्कने बताउने गरेको स्पष्ट पारे ।भट्टराईले जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग पनि भेटघाट गरेर जिल्लाको सुरक्षा अवस्था र बन्दले पारेको प्रभावबारे जानकारी लिएका थिए ।
आठ सातादेखि सदरमुकाम परासीसहित दक्षिणभेग ठप्प छ । नवलपरासी पछि सोमबार भट्टराई रुपन्देहीहुँदै पाल्पा जाने र त्यसपछि काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।