भारतीयको संलग्नतामा पेट्रोल कालोबजारी
किशोर बुढाथोकी
विराटनगर,१७ असोज । भारतले अघोषित नाकाबन्दीका कारण इन्धनको चरम अभाव भइरहँदा भारतीय नागरिककै संलग्नतामा पूर्वी तराईमा पेट्रोलको कालोबजारी हुन थालेको छ ।भारतले असोज ७ गतेदेखि गरिरहेको नाकाबन्दीका कारण पेट्रोल, डिजेल समेतका इन्धन बोकेका ट्याँकरहरु भारतीय सीमा क्षेत्रमै रोकिएपछि यसको चरम अभावसँगै कालोबजारी मौलाएको हो ।
लामो समयदेखि भित्रन नसक्दा नेपाल आयल निगमले पनि इन्धन उपलब्ध गराउन सकिरहेको छैन । निगमले मौज्दातनै सकिँदै गएको जनाएको छ । पेट्रोलियम पदार्थको हाहाकार हुँदा मोटरसाईकल, एम्बुलेन्स लगायतका अति आवस्यकिय सवारी साधन संचालनमा पनि समस्या हुन थालेको छ ।
भारतबाट भित्रन नसकिरहेको अवस्थामा मौज्दात सकिएर निगमले समेत उपभोक्तालाई उपलब्ध गराउन नसक्दा त्यसको फाइदा कालोबजारी गर्नेहरुले उठाउन थालेका छन् । पेट्रोल नपाएर हैरान भएका उपभोक्ता कालोबजारी गर्ने भारतीयहरुबाट महंगोमा पेट्रोल खरिद गरेर सवारी साधन संचालन गर्न बाध्य छन् । नेपालमा पेट्रोलको मूल्य एक सय तीन रुपैयाँ प्रति लिटर पर्छ ।
पूर्वका विराटनगर, इटहरी, इनरुवा, उर्लाबारी, दमक, धरान, लहान, राजविराज समेतका सहरमा पेट्रोलको कालोबजारी भइरहेको छ । विराटनगरका व्यापारी रविन लम्सालका अनुसार भारतीय नागरिकहरुले भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट पेट्रोलको कालोबजारी गरिरहेका छन् ।
लम्सालका अनुसार भारतीय नागरिकले आफ्नो मोटरसाइकलमा पेट्रोल भरेर ल्याउँदै पूर्वी तराईका सहरमा प्रति लिटर दुई देखि चार सय रुपैयाँसम्ममा विक्री गरिरहेका छन् । ‘भारतीयहरु आफ्नो मोटरसाइकलमा पेट्रोल भरेर ल्याउँदै विभिन्न ठाउँमा लगेर नेपालमा तोकिएको भन्दा महँगो मूल्यमा विक्री गर्छन,’ उनले भने, ‘इन्धन नपाएर हैरान भएका उपभोक्ता महँगोमा खरिद गरेर आफ्नो सवारी साधनमा प्रयोग गर्न बाध्य छन् ।’
उनका अनुसार भारतीयले विराटनगरमा दुई सय र इटहरी सम्म लगेर चार सय रुपैयाँ प्रति लिटर पेट्रोल विक्री गर्ने गर्छन । नेपाली उपभोक्ता भारतीय सीमा सुरक्षा बल एसएसवी र भारतीय प्रहरीको दुव्र्यवहारका कारण इन्धन भर्नका लागि भारतसम्म पनि जान सक्ने अवस्थामा छैनन् ।
एक उपभोक्ताका अनुसार नेपाली नगारिकले भारतीय पम्पसम्म पुगेर ल्याइएको पेट्रोल पोखिदिने, खोसीदिने र पेट्रोल भरेर आउनेलाई दुव्र्यवहार गर्ने काम भारतीय सुरक्षाकर्मीले गर्ने गर्छन । यसअघिका कुनैपनि बन्द र हड्तालका कारण पेट्रोल अभाव भएमा नेपाली उपभोक्ता भारतको बथनाहा, वीरपुर र फारबिसगन्जसम्म पुगेर आँफूलाई आवशयक पेट्रोल भरेर आउने गर्थे
नाकाबन्दीपछि भने भारतीय सुरक्षाकर्मीको दुव्र्यवहारका कारण जान डाराउने गरेको उपभोक्ता सन्तोष चौहानको भनाइ छ । इन्धन भित्राउन नसकिएको अवस्थामा भारतीय नागरिककै सक्रियतामा नेपालमा कालोबजारी हुन थालेपछि सर्वसाधारण नेपाली उपभोक्ता ठगिने क्रम बढेको उपभोक्तावादी संस्था पव्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।
‘इन्धन अभाव भएर सवारी साधन संचालनमा समस्या भएका कारण उपभोक्ता महँगोमा खरिद गर्नु पर्दा उपभोक्ता समस्यामा छन्,’ उनले भने,‘ आफ्नो देशले नेपालविरुद्ध गरेको नाकाबन्दी र नेपालीलाई सीमा क्षेत्रमा गरिएको दुव्र्यवहारको फाइदा उठाउँदै इन्धनलाई व्यापारको माध्यम बनाएर पैसा कमाउन भारतीय नागरिकहरु सक्रिय छन् ।’
ढुंगेलका अनुसार पेट्रोल अभाव भएका कारण सडकमा मोटरसाइकल समेत पातलिँदै गइरहेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले तोकिएको भन्दा महंगो मूल्यमा इन्धन विक्री गर्न नपाइने बताउँछन् ।
‘पेट्रोल कालोबाजरीका बारेमा सूचना आइसकेको छ । सबै सरोकारवाला निकाय बसेर नियन्त्रणका लागि छलफल गर्ने तयारी गरिरहेका छौं,’ अधिकारीले भने, ‘कालोबजारी गरेर तोकिएको भन्दा बढी मूल्यमा विक्री गर्नेलाई कारवाही अघि बढाइने छ । नेपाली र भारतीय नागरिक जसले कालोबजारी गरेको भएपनि छाडिने छैन ।’
उनले अभाव भएका बेला आपूर्तिलाई सहज बनाउन सहयोग गर्न मिल्ने भएपनि कलोबजारी गर्न नमिल्ने बताए ।
नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख खिलेन्द्र कार्कीले निगमसँग एक हजार किलो लिटर डिजेल र लगभग एक सय किलोलिटर पेट्रोल मात्र मौज्दात रहेको जानकारी दिए ।
मौज्दात सकिन लागेका कारण डिजेल र पेट्रोल वितरण जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र गर्न थालिएको जानकारी कार्कीले दिए । उनका अनुसार पूर्वाञ्चललाई लक्षित गरे इन्धन भित्राउनका लागि इन्धन लोड गरिएका ट्याँकरहरु नेपाल विरुद्ध भारतले गरेको अघोषित नाकाबन्दीका कारण भारतीय भूमिमै रोकिएका छन् । पूर्वमा दैनिक एक सय ५० किलोलिटर पेट्रोल र चार सय किलोलिटर डिजेलको आवश्यकता पर्ने कार्कीको भनाइ छ ।